पर्यटन बोर्डमा बन्लिन् त श्रेष्ठ पहिलो महिला सीईओ ?

पर्यटन बोर्डमा बन्लिन् त श्रेष्ठ पहिलो महिला सीईओ ?


काठमाण्डु – १६ माघ २०८० मा डा. धनन्जय रेग्मीको कार्यकाल सकिएपछि रिक्त भएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया बल्ल अघि बढेको छ । छनोट प्रक्रिया अन्तर्गत सीईओका आकांक्षी १६ उम्मेदवारले मंगलबार आफ्नो प्रस्तुतीकरण दिएका छन् । सीईओमा छानिएपछि के गर्ने भन्ने कार्ययोजनासहित एक जनाले २० मिनेटको प्रस्तुतीकरण दिएका थिए ।

सीईओ पदपूर्ति समितिले दरखास्त आह्वान गर्दा मागेको ५ हजार शव्दको व्यावसायिक कार्ययोजना अध्ययन र प्रस्तुतीकरण अध्ययन गरेर आज सिफारिस समितिले १६ जनाबाट तीन जनाको नाम सिफारिस गर्नेछ ।

बोर्डको सीईओ बन्न डा. धनन्जय रेग्मी, दीपकराज जोशी, हक्मत सिंह ऐर, श्रद्धा श्रेष्ठ, सन्तोषविक्रम थापा, लक्ष्मण गौतम, नवीन पोखरेल, विजय नेपाल, राजाराम गिरी, राजाराम केसी, ज्ञानिन राई, ज्ञानेश्वर सिंह महतो, सूर्यबहादुर घिमिरे, दीपक बस्ताकोटी, रामचन्द्र सेढाई र ठाकुर देवकोटाले बुधबार प्रस्तुतीकरण दिएका छन् । प्रस्तुतीकरण दिएकामध्य महिला एक जना श्रद्धा श्रेष्ठमात्र छिन् । आकांक्षी मध्यका डा. रेग्मी निवर्तमान सीईओ हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत पर्ने पर्यटन बोर्डको सीईओ बन्न धेरैजसो कांग्रेस निकटहरूले जोडबल गरिरहेका छन् । कांग्रेस सहमहामन्त्री डा. बद्रीप्रसाद पाण्डे मन्त्री भएकाले पनि कांग्रेसीहरू लागिरहेका हुन् । त्यसमाथि पनि सुदूरपश्चिम स्थायी ठेगाना भएकाहरूले थप जोडबल गरिरहेका छन् । मन्त्री डा. पाण्डे सुदूरपश्चिम बाजुराका हुन् ।

अर्कोतर्फ पर्यटक भित्र्याउने र पर्यटनसम्बन्धी गतिविधि गर्ने मुख्य व्यक्ति (सीईओ)मा महिलालाई पुर्‍याउनुपर्ने मत पनि बलियो देखिन्छ । अहिलेसम्म महिला बोर्डको सीईओ नबनेकाले पनि महिलालाई सीईओ बनाएर इतिहास रच्नुपर्ने धेरैले बताएका छन् ।

अर्कोतर्फ आकांक्षा देखाएर प्रस्तुतीकरण दिएकी श्रेष्ठ आफैमा पर्यटन क्षेत्र चलायमान बनाउनका लागि योग्य पात्र हुन् । बिजनेश एडमिनिस्ट्रेसनमा मास्टर्स गरेकी श्रेष्ठ २० वर्षदेखि पर्यटन बोर्डमा काम गरिरहेकी छन् । उनी काठमाण्डौँकी बासिन्दा हुन् । अहिले श्रेष्ठ युएनडिपीको सहयोगमा बोर्डमा सञ्चालित दिगो पर्यटनसम्बन्धी परियोजनाको राष्ट्रिय परियोजना संयोजक भएर काम गरिरहेकी छन् ।

पर्यटन बोर्डको सीईओ चयन भएमा सर्वप्रथम आर्थिक विनियमावली परिवर्तन गर्ने उनले बताइन् । मन्त्रालयमा ६ वर्षदेखि आर्थिक विनियमावली अड्किदा बजेट र भिजन भएर पनि काम गर्न नसकिएको श्रेष्ठ बताउँछिन् । ‘बोर्डको आर्थिक विनियमावली समयानुकुल परिवर्तन भएको छैन । विनियमावली परिवर्तन नहुँदा बजेट, मिसन र भिजन हुँदा पनि बोर्डले काम गर्न सकेको छैन,’ श्रेष्ठले काठमाण्डुपाटीसँग भनिन्, ‘म सीईओ चयन भए भने पहिलो प्राथमिकता विनियमावलीलाई अपडेट गरेर समय सापेक्ष बनाउने हुन्छ ।’

चार वर्षको कार्यकालमा फरक–फरक वर्षमा फरक–फरक विषयवस्तुमा फोकस भएर काम गर्ने योजना आफ्नो रहेको उनले सुनाइन् ।

टुरिजम इन्भेष्टमेन्ट समिट गर्ने नयाँ योजना पनि आफूसँग रहेको बताउँदै श्रेष्ठले वर्षौदेखि रहेका पर्यटनका गन्तव्यलाई यथावत राखेर नयाँ नयाँ गन्तव्य निर्माण गर्नका लागि आफू लागिपर्ने बताइन् ।

सीईओ छनोट उपसमितिले १० दिनभित्र नयाँ सीईओ आइसक्ने भन्दै त्यसअनुसार काम भइरहेको बताएको छ ।