काठमाण्डु – बंगलादेशमा राजनीतिक उथल–पुथलबीच पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेर भारत पलायन भएको एक महिना पूरा भएको छ ।
विद्यार्थीहरूको स्वस्फूर्त आन्दोलनमा चरम बल र हिंसा प्रयोग गरेर पनि दबाउन नसकेपछि अन्ततः हसिना विरासतमा पाएको सत्ता र शक्ति छाडेर गत महिना ५ अगस्तमा भारत पलायत भएकी थिइन् । उनी पलायन भएपछि दुई दशक लामो हसिना सत्ताको नाटकीय पतन भयो ।
भारत पलायन भएपछि उनी केही समय त्यहाँ बसेर बेलायत, अमेरिका या संयुक्त अरब इमिरेट्समा शरण लिने अनुमान गरिएको थियो । तर ती सबै अनुमानलाई चिर्दै उनी अहिले पनि भारतमै बसेकी छन् र उनको सम्भाव्य कदमबारे केही संकेत मिलेको छैन ।
हसिना भारतमा रहँदा दिल्लीलाई ढाकाको नयाँ अन्तरिम सरकारसँग बलियो सम्बन्ध बनाउन चुनौती थपिएको छ ।
भारतका लागि बंगलादेश एक छिमेकी देश मात्र होइन, रणनीतिक साझेदार र भारतको सीमा सुरक्षा तथा खास गरी पूर्वोत्तर राज्यको एक महत्वपूर्ण सहयोगी पनि हो ।
भारत र बंगलादेशबीच ४ हजार ९६ किलोमीटर लामो साझा सीमा छ । २००९ मा हसिना नेतृत्वको अवामी लिग सत्तामा आएपछि दुवै देशले चरमपन्थी समूहमाथि मिलेर कारबाही गरेका थिए । यसका साथै हसिना नेतृत्वको सरकारले भारतसँग सीमा विवाद पनि सौहार्दपूर्ण तरिकाले हल गरेको थियो । हसिनाको १५ वर्षको शासनमा दुवै देशबीच व्यापारिक सम्बन्ध पनि बढेको थियो ।
२०१० मा बंगलादेशको विकास परियोजनाका लागि भारतले ७ अर्ब डलरभन्दा बढी ऋण दिएको छ । सत्ताबाट हसिना च्यूत भएपछि यी उपलब्धीहरूलाई बचाउन भारतलाई अझ बढी परिश्रम गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।
हसिना र उनी नेतृत्वको अवामी लिगप्रति भारतकोे अटुट समर्थनका कारण बंगलादेशी जनतामा भारतप्रति नकारात्मक धारणा पैदा भएको छ । जसलाई हटाउन भारतलाई चुनौती बनेको छ । अधिकांश बंगलादेशी गत वर्ष भएको निर्वाचनमा दिल्लीले हसिनालाई खुलेयाम समर्थन गरेको मान्दछन् ।
‘छिमेक पहिलो’ नीतिमा झट्का
हसिना नेतृत्वको सरकार पतनसँगै भारतको ‘छिमेक पहिलो’ (नेबरहुड फस्ट) नीतिलाई झट्का लागेको छ । किनभने यस नीतिमार्फत आफ्नो वर्चस्व राख्न भारतको प्रयासविरुद्ध नेपाल र मालदिप्सपछि बंगलादेश पनि उभिएको छ ।
भारतीय विश्लेषकहरूका अनुसार भारतले आफूलाई क्षेत्रीय शक्तिका रूप जोगाउन चाहन्छ भने उसले सबै छिमेकसँग राम्रो र सुमधुर सम्बन्ध बनाउनुपर्छ । तर मौजुदा अवस्थामा कुनै पनि देशसँग भारतको राम्रो सम्बन्ध रहेको पाइदैन । मालदिप्समा मोहम्मद मुइजजु भारत विरोधी राष्ट्रपतिका रूपमा निर्वाचनमा विजयी भए ।
ढाकामा सेन्टर फर पोलिसी डायलगका वरिष्ठ अर्थशास्त्री देवप्रिय भट्टाचार्या भन्छन, ‘आफ्नो क्षेत्रीय नीतिका सन्दर्भमा भारतलाई आत्ममन्थन गर्न जरुरी छ ।’ भारतलाई क्षेत्रीय साझेदारको नजरबाट पर्याप्त ढंगले बुझ्न जरुरी रहेको धारणा भट्टाचार्याको छ ।
बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का वरिष्ठ नेता अब्दुल मोइन भन्छन्, ‘यदि भारतले बंगलादेशमा अवामी लिग र यसको सरकार मात्रै दिल्लीका सहयोगी हुन् भने ठान्दछ भने यो उसको रणनीतिक भूल हो ।’
यदि बंगलादेशमा स्वतन्त्र र निष्पक्ष निर्वाचन भयो भने बीएनपीको जितको सम्भावना धेरै छ । जुन दिल्लीका लागि अर्को कूटनीतिक चुनौती हुनेछ । किनभने भारत र बीएनपीबीच अविश्वासको भाव छ । बीएनपीका नेता बेगम खालिदा जिया हुन् । उनी दुई पटक प्रधानमन्त्री भइसकेकी हुन् ।
खालिदा जिया २०१८ देखि अधिकांश समय जेलमा रहेकी छिन् । उनीमाथि हसिनाले भ्रष्टाचारका आरोप लगाएकी थिइन् । अन्तरिम सरकार बनेपछि जिया जेलमुक्त भएकी हुन् ।
छिमेकीहरूसँग भारतको बढ्दो मतभेदकाबीच चीनले यस क्षेत्रमा प्रवेश गरेको छ । चीनले पछिल्लो समय ढाकाका साथै यस क्षेत्रका हरेक देशमा प्रभाव बढाउन चाहन्छ ।
मालदिप्सका राष्ट्रपति मुइजजुलाई चीनले खुलेरै स्वागत गरेको थियो भने मइजजु राष्ट्रपति बने पछि पहिलो विदेश भ्रमण चीनबाटै सुरु गरेका थिए ।
यसबाट पाठ सिकेका भारतले मालदिप्स जस्तो गल्ती बंगलादेशमा दोहर्याउन चाहँदैन । यस कारण हसिना दिल्लीमा रहुन्जेल भारतलाई सावधानीपूर्वक बंगलादेशसँग सम्बन्ध अगाडि बढाउनु पर्ने हुन्छ । खास गरी, जब नयाँ सरकारले औपचारिक रूपमा हसिनालाई सुपुर्दगीका लागि अपिल गर्छ भने ।
तर हसिनालाई एक दृढ सहयोगी मान्दै आएको भारतले उनलाई यस्तो अवस्थमा अलपत्र पार्न पनि चाहँदैन ।
भट्टाचार्या भन्छन, ‘हसिना भारतमै बसे पनि त्यसबाट तत्काल दुवै देशलाई समस्या छैन । तर यदि उनी अन्तरिम सरकारविरुद्ध बोल्छिन् भने स्थिति असामान्य हुन सक्छ र त्यो भारतका लागि थप चुनौती बन्न सक्छ ।’
प्रतिक्रिया