नुवाकोट – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बागमती प्रदेश सरकारको लागतमा विस्तार तथा स्तरोन्नति गरिएका सडकलाई कालोपत्र गरिने बताएका छन् ।
नुवाकोटको बेलकोटगढी–७ मा शुक्रबारदेखि सुरु भएको ‘तीज पर्व विशेष रमाइलो मेला’को उद्घाटन गर्दै मुख्यमन्त्री तामाङले सडकमा लगानी गर्ने तर संरक्षण नहुने प्रवृत्ति अन्त्य गर्न विस्तार भएका सबै सडकलाई अनिवार्य कालोपत्र गर्ने कार्यक्रम ल्याउन लागिएको बताए ।
‘कुन सडक, कुन सरकारको दायित्वमा पर्छ भन्ने पहिचान नहुँदा समस्या भइरहेको छ,’ उनले भने, ‘जुन सरकारले लगानीमा निर्माण गरिएको छ । सोही सरकारबाट नै संरक्षण र सम्वर्द्धनको जिम्मेवारी लिनुपर्छ भनेर ३ तहका सरकारबीच छलफल भइरहेको छ । आफ्नो दायित्वभित्रका सडकलाई कालोपत्र गर्ने जिम्मेवारी पूरा गर्न प्रदेश सरकार तयार छ ।’
सरकारको लगानीको ठूलो हिस्सा सडकमा गरे पनि सोहीअनुसार जनजीवन सहज बनाउन र आर्थिक रूपान्तरणमा जोड दिन नसकेको मुख्यमन्त्री तामाङले बताए । सडक विस्तार भइरहेको भन्दै प्रदेश सरकारले नयाँ ट्रयाकको विस्तार नगर्ने र यसअघि विस्तार भइसकेकालाई प्राविधिक अध्ययनपश्चात् व्यवस्थित गरिने उनको भनाइ छ ।
‘अध्ययन, आवश्यकता र दीगोपनमा ध्यान नदिई जथाभावी विस्तार भएका सडकले विकास होइन, समस्या निम्त्याएको छ,’ मुख्यमन्त्री तामाङले भने, ‘सडक लगायत पूर्वाधार निर्माणमा प्राविधिक (इञ्जिनीयर) को सिफारिस अनिवार्य बनाइ तोकिएको अवधिसम्म उपभोगको सुनिश्चित बनाउन सक्नुपर्छ ।’
बेलकोटगढी नगरपालिका–७ को कार्यालय र न्यू भिजन युवा क्लबको आयोजनामा बेलकोटगढी–७ स्थित खेल मैदानमा बुधबारदेखि सुरु भएको तीज विशेष रमाइलो मेला (महोत्सव) आगामी भदौ २९ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया