काठमाण्डु-अगस्ट महिनामा विश्वव्यापी तापमान सूचकाङ्कमा उच्च रेकर्ड कायम भएको छ । बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको राष्ट्रसङ्घको मौसम तथा जलवायुसम्बन्धी निकाय (डब्ल्युएमओ) ले जनाएको छ ।
विश्वमा लगातार दोस्रो वर्ष अगस्टमा तापक्रमको रेकर्ड औसतभन्दा बढी भएको युरोपेली युनियनको जलवायु अनुगमनको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।
मौसम विज्ञान निकायहरूका अनुसार यो अवधिमा अष्ट्रेलिया, जापान, चीनका केही भाग तथा नर्वेमा अहिलेसम्मको सबैभन्दा तातो अनुभव गरिएको छ ।
तथ्याङ्कअनुसार पछिल्लो समयमा अपेक्षाभन्दा धेरै तापक्रम बढेको र यो हामीले तापक्रम सन्तुलनका लागि जनाएको प्रतिवद्धताभन्दा विपरित भएको डब्ल्युएमओका प्रमुख सेलेस्ट साउलोले बताइन् ।
ईयूको ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’ले गत वर्ष अगस्टमा मापन गरिएको रेकर्ड १६.८२ डिग्री सेल्सियसभन्दा माथि रहेको उनले बताइन् ।
सिङ्गापुरमा स्थानीय मौसम विज्ञान निकायहरूको क्षेत्रीय जलवायुसम्बन्धी एक कार्यक्रममा बोल्दै निर्धारित ‘मापदण्ड’ पार भइसकेको उनको भनाइ छ ।
तापक्रम वृद्धि नियन्त्रण गर्न थप स्रोतहरू चाहिने उल्लेख गर्दै साउलोले मौसम विज्ञान निकायका लागि राम्रो निगरानी र समर्थनका लागि पनि आह्वान गरिन् ।
विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ)ले एसिया र प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारेको पछिल्लो मूल्याङ्कन जारी गरेको केही दिनपछि आएको यस फोरमले धेरै क्षेत्रमा समुद्री सतहको वृद्धि औसतभन्दा माथि रहेको चेतावनी दिएको छ ।
‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’का अनुसार अगस्टसम्मको रेकर्डले १५ महिनाको वृद्धिको निरन्तरतालाई जारी राखेको देखिन्छ भने प्रत्येक महिनामा अघिल्लो वर्षको तापक्रमको रेकर्डलाई तोडेका देखिन्छ ।
जलवायु मञ्चले सिङ्गापुरलाई वनस्पतिमा लागेको आगो र धुवाँले गर्दा हुने प्रदूषण अनुगमन गर्ने क्षेत्रीय केन्द्रको रूपमा घोषणा गरेको छ ।
विश्वभर दुई वटा यस प्रकारका केन्द्र छन्। केन्द्रले आगो र प्रदूषण पूर्वानुमानमा राम्रो गुणस्तरको जानकारी प्रदान गरी क्षेत्रीय तथ्याङ्कमा रहेको अन्तरलाई कम गर्ने अधिकारीहरूले बताएका छन् । रासस
प्रतिक्रिया