निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री

निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री


महेन्द्रनगर-गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रूपमा अनुसन्धान हुने बताएका छन् । महेन्द्रनगरमा आज प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्ममेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताएका हुन् ।

‘यो प्रकरणलाई मैले गम्भीरताका साथ लिएको छु । यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ’, उनले भने । कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने पनि मन्त्री लेखकले बताए ।

‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ, उनले भने, ‘निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीनसंग जोड्छ ।’ दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न भारत तयार रहेको उनले उल्लेख गरे ।

‘दुई–तीन महिनाभित्रै सुख्खा बन्दरगाह निर्माणका लागि भारतले टेन्डर आह्वान गर्छ । छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ’, मन्त्री लेखकले भने । संसदमा भएका दुई ठुला दलहरूबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेकोले बताउँदै सहमति कार्यान्वयनमा शंका नगर्न पनि उनले आग्रह गरे ।

‘दुई दलबीच सात बुँदे सहमति भएर सरकार निर्माण भएको छ’, उनले भने, ‘यो गठबन्धन आगामी चुनावसम्मै जान्छ, यसमा ढुक्क हुनुस ।’ तीन दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरमा दुईवटा प्रहरीका भवनको पनि उदघाटन गरेका छन् ।