काठमाण्डु-काठमाडौँ महानगरपालिकाले ७ वटा सहकारी संस्थालाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीबीआइ)लाई चिठी लेखेको छ ।
महानगरले अनुसन्धानका लागि चिठी लेखेका सहकारीहरूमा ६ वटा बचत तथा ऋण सहकारी र एउटा वहुउद्देश्यीय सहकारी छन् ।
४० वटा सहकारीको अनुगमन गर्दा ७ वटालाई थप अनुसन्धान गर्नुपर्ने महानगरको पत्रमा उल्लेख छ ।
बचत तथा ऋणतर्फ सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुरल डिभपलमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सत्कार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नमो हारती बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई थप अनुसन्धान गर्न महानगरले सीबीआइले पत्र लेखेको हो । यस्तै बहुउद्देश्यीय सहकारीमा आधारभूत वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पनि अनुसन्धानको दायरमा ल्याउन महानगरले भनेको छ ।
महानगरले २०८० चैत १६ गतेदेखि २०८१ असार ७ गतेसम्म गरेको अनुगमनका आधारमा तयार पारेकोे प्रतिवेदन अनुसार ती सहकारीहरूमाथि थप अनुसन्धान गर्न आग्रह गरेको हो ।
बचत संकलन, संकलित रकम परिचालन, ऋण प्रवाह तथा लगानीका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकोले अनुसन्धानका लागि सीबीआइमा पत्र पठाइएको सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।
अनुगमन गरिएकामध्ये एउटाको कार्य क्षेत्र प्रदेश देखिएकोले सक्कल फाइल प्रदेश सरकारलाई पनि पठाइएको छ ।
सहकारी नियमन महाशाखा प्रमुख एवं अनुगमन समितिका सदस्य सचिव सुशिल सुवेदीका अनुसार अनुगमनबाट प्राप्त प्रतिवेदनका आधारमा ३२ वटा सहकारी संस्थाहरूलाई स्पष्टिकरण सोधिएको थियो ।
उनका अनुसार काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ बमोजिम कसुरको गम्भीर्यता हेरी अधिकतम ५ लाख रुपैयाँसम्म जरिवाना र अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
प्रतिक्रिया