धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अघि बढाउन अर्थमन्त्रीको निर्देशन

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अघि बढाउन अर्थमन्त्रीको निर्देशन


काठमाण्डु – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया सुरु गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिएका छन् ।

अदालतमा मुद्दा विचाराधिन रहेको बेलामा बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया सुरु गर्न मिल्छ कि मिल्दैन भनेर महान्यायाधिवक्ता कार्यालयसँग अर्थ मन्त्रालयले राय मागेको थियो । महान्यायाधिवक्ता कार्यालयले मिल्ने राय दिएपछि अर्थमन्त्रीस् पौडेलले अध्यक्ष नियुक्तिका लागि यसअघि सुरु भएको प्रक्रिया पुनः अघि बढाउन निर्देशन दिएका हुन् ।

पुरानै प्रक्रियालाई अघि बढाउने गरी अर्थमन्त्रीले निर्देशन दिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । निर्देशन अनुरुप केही दिनमा प्रक्रिया अघि बढ्ने स्रोतले बतायो ।

अदालतमा मुद्दा विचाराधिन भएको बेलामा सरकाले नयाँ प्रक्रिया अघि बढाउन नसक्ने भएकोले पनि पुरानै प्रक्रियालाई नयाँ सिराबाट अघि बढाउन लागिएको हो । यस अघि सर्ट लिस्टमा परेका सन्तोष नारायण श्रेष्ठले सर्वोच्चमा दायर गरेको मुद्दामा असार १८ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

२१ असारमा न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले असार १८ को अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएपछि आगामी माघ ३० मा मात्रै अर्को सुनवाइ हुने भएकाले अर्थमन्त्री पौडेलले पुरानै प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

नयाँ प्रक्रिया अघि बढाउन माघ ३० सम्म पर्खनु पर्ने र त्यति लामो समय बोर्डलाई अध्यक्ष विहीन राख्न न्यायोचित नदेखिएपछि अर्थ मन्त्रालयले पुरानै प्रक्रिया अघि बढाउन लागेको स्रोत बताउँछ ।

यसअघि धितोपत्र बोर्ड अध्यक्ष छनौट समितिले १९ आवेदकबाट नवराज अधिकारी, कृष्णबहादुर कार्की, सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र चिरञ्जीवी चापागाईँको नाम सर्टलिष्टमा पारेको थियो । ती मध्य समितिले अन्तरवार्ताको लागि डाक्दा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ आफ्नो कार्ययोजनासहित उपस्थित भए । बाँकी तीन जना उपस्थित नभएपछि धितोपत्र ऐन अनुरुप समितिले सिफारिस गर्न नसकपछि छनौट समितिले सम्पूर्ण प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो ।

अब फेरि तीनै सर्ट लिस्टमा परेकाहरूलाई अन्तरवार्ताको लागि बोलाउने गरी प्रक्रिया सुरु गर्न लागिएको हो ।