काठमाण्डु – नेपाल प्रहरीमा रहेको उमेर हदको प्रावधानविरुद्ध परेको रिटलाई सर्वाेच्च अदालतले अग्राधिकार दिएको छ ।
उमेर हदले अनिवार्य अवकाश हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली सहितका प्रहरी अधिकृतहरूले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले बिहीबार रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरे पनि रिटलाई अग्राधिकार दिएको छ ।
प्रहरीमा दर्जाअनुसार विभिन्न उमेर हदका कारण अनिवार्य अवकाश हुने गरेको छ । उमेर हद कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।
उमेर हदका कारण अवकाशमा जाने प्रहरी अधिकारीहरूलाई प्रहरी किताबखानाले पत्राचार गरिसकेको छ । अदालतले अन्तरिम आदेश नदिएकाले अब उमेर हद पुगेका अधिकारीहरूले अवकाशमा जानुपर्नेछ ।
प्रतिक्रिया