-जीवन आचार्य
काठमाडौं – २०७४ मंसिर ३ गते झिसमिसेमै गङ्गाको मोवाइल बज्यो, एक्कासी गङ्गाले आत्तिदै भनिन् ‘भाइ बिरामी भएर हस्पिटल लगेको छ रे ।’ सोचें, सामान्य केही भएको होला । सायद भाई प्रकाश निरोगी भएका कारण पनि मैले त्यसो सोचेको हुनुपर्छ ।
२०७४ मंसिर २१ गते तराईका जिल्लामा सङ्घीय र प्रादेशिक निर्वाचनको चटारो थियो, म मोरङ् ६ (क) को उम्मेदवार भएका कारण निर्वाचनमा सहयोगका निम्ति सानी छोरी ईशान्वीसहित ठूलो भिनाजु सागर केसी विराटनगर आएको २ दिनमात्र भएको थियो ।
निर्वाचनको समय भएका कारण बुवा (ससुराबुवा) त्यो दिन मंसिर ३ गते काँकडभित्ताको चुनावी सभालाई सम्बोधन गर्नका लागि झापामा हुनुहुन्थ्यो । भाई बिरामी भएको खबरपछि गङ्गाले बुवालाई फोन सम्पर्क गरिन् । बुवाले ‘तुरुन्त आउनू’ भन्नुभएछ, त्यसपछि हामी झापा गयौं ।
बाटोमा यात्राका क्रममा सामान्य नै होला भन्ने विश्वासका साथ झापा पुगियो। त्यहा‘ पुगेपछि एकजना प्रहरीले ‘प्रकाशजीको बारेमा खबर नराम्रो छ’ भने । मलाई हस्पिटल लगेको छ, राम्रो भइहाल्छ नि भन्ने भयो । मानिसहरुको घुइँचो लागेको थियो, तात्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि त्यही हुनुहुन्थ्यो, माहोल एकदमै सुनसान थियो । त्यसै क्रममा हामीलाई लिन काठमाडौंबाट हेलिकप्टर आयो, हामी जब हेलिकप्टरमा बस्यौं, अध्यक्ष ओलीज्यूले बुवातिर हेर्दै भन्नुभयो, ‘जे हुनु भइहाल्यो, तपाईं लगायत परिवारलाई समवेदना छ’ त्यो आवाज मेरो कानमा गुञ्जियो ।
म स्तब्ध भएँ, गङ्गालाई हेरें बुवालाई हेरें । यो के भएको हो, मन बेचैन भयो, आशु थामिएनन् । विगतमा भाइ प्रकाशसँग बिताएका हरेक पल स्मरण हुन थाले, मनमनै प्रार्थना गर्न थालें, “यो सबै गलत होस्, प्रकाशलाई ठीकठाक देख्न पाउँ । तर, समयले त्यसो गरेन, अन्ततः भाइ प्रकाशले हामीलाई साँच्चै याद मात्र छोडेर सदाका लागि बिदा लिईसकेको रहेछ ।
हामी एउटै छानामुनी लामो समय सँगै बस्यौं, भाइसँग मेरो छुट्टै सम्बन्ध थियो, हामी सालाभेना कम, साथी बढी थियौं, सायद उमेरले पनि होला । सँगै घुम्न जाने, क्रिकेट खेल्ने, रमाइलो गर्ने गथ्र्यौं हामी । वास्तवमा, प्रकाश सामान्य स्वभावको थियो, सोझो थियो, सामान्य कुरामा रमाउँथ्यो, बाटोमा राखिएका ठेलागाडाका मःम खा‘दा औधी खुशी हुन्थ्यो प्रकाश । अनावश्यक खर्च नगर्ने बानी थियो । सामाजिक काम गर्न औधी रुचि भएका कारण उसले विदेशमा अलपत्र नेपाली युवाहरुलाई स्वदेश फर्काउने अभियान नै चलायो । युवाहरुका हर समस्यामा प्रिय साथी थियो ऊ ।
उसको बारेमा केही भ्रम छरिए, उसमाथि निरन्तर प्रहार भइरह्यो । जीवनमा उसले चालेका सबै कदम रहर पक्कै थिएनन्, कति त बाध्यता पनि थिए । तर, दुनियाँले उनका बाध्यता बुझ्ने र खोतल्ने प्रयास कहिल्यै गरेन । कहिलेकाहीँ लाग्छ, ‘प्रकाशको बारेमा जस्तो गलत प्रचार गरियो, ऊ बिल्कुल त्यस्तो थिएन । आज उनी हामीसँग छैनन्, म घरिघरि सोच्छु, ‘समाजले प्रकाश भाइप्रति किन यति धेरै अन्याय गरेको होला ? उनका राम्रा काम र अनुकरणीय देन किन ओझेल पारिएको होला ?’
प्रकाशले बढ्दो उमेरसँगै आफूलाई परिपक्व बनाउँदै लग्यो । दोस्रोपटक बुवा प्रधानमन्त्री हुँदा उसले सचिवालयमा बसेर गरेको मेहेनत अहिले पनि मन्त्रालयका सचिव र कर्मचारीहरु सम्झन्छन् । प्रधानमन्त्रीका रुपमा बुवाले गरेका धेरै निर्णयहरुमा भाइ प्रकाशको सहयोग, सल्लाह र बेजोड मेहेनत छ भन्ने कुरा मलाई राम्रोसँग महशुस अनि स्मरण हुन्छ ।
अन्ततः भाइ प्रकाशले छोडेर गएको पनि एक वर्ष पुगिसकेछ । समय बलवान छ, जीवनमा मृत्यु एकमात्र सत्य हो, यसमा भन्नु केही पनि छैन् । तर, प्रकाशको जीवनमा मृत्यु छिटो आयो, यो नै हामी सबैका लागि ठूलो पीडाको विषय हो । भौतिक शरीर नभए पनि उसको देशप्रतिको माया, परिवारप्रतिको जिम्मेवारी, यूवाप्रतिको स्नेह र मोह, अनि समृद्ध र आधुनिक नेपालका लागि गरेको योगदान सधैं स्मरणीय रहनेछ ।
भाइ प्रकाश !! व्यक्तिगत रुपमा तिमीले गरेको सहयोग र सम्मानप्रति रिणी छु, आभारी छु, जीवनभरि आभारी रहनेछु । तिमीले देखेका अधुरा सपना सकेसम्म पूरा गर्ने कोशिस गर्नेछु । यही नै तिम्रा लागि सच्चा श्रद्धाञ्जली हुनेछ,
हार्दिक श्रद्धाञ्जली प्रिय भाइ !!
(जीवन आचार्यको फेसबुकबाट)
प्रतिक्रिया