बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिना अहिले शान्त बस्नुपर्छ : युनुस

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिना अहिले शान्त बस्नुपर्छ : युनुस


काठमाण्डु – बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई भारतमा निर्वासनमा बस्दा शान्त बस्नुपर्ने अन्तरिम नेता मोहम्मद युनुसले बताएका छन् ।

हसिनाले १५ वर्षसम्म निरन्तररूपमा बंगलादेशको नेतृत्व गरेकी थिइन् । सरकारी जागिरमा आरक्षणमा व्यापक अनियमितता भएको भन्दै यसको खारेजीका लागि भनी सुरू भएको आन्दोलनका क्रममा जनसहभागिता बढ्दै गएपछि र यसको खतरा आफूमाथि देखेपछि केही आफन्तसहित ७६ वर्षीया हसिना हेलिकप्टरमार्फत् भारतको नयाँदिल्लीमा पुगी शरण लिएकी थिइन् । उनी भारततर्फ गएपछि उनको राजीनामाको घोषणा बंगलादेशको सेना प्रमुखले गरेका थिए ।

नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले उनको सुपुर्दगी र हप्तौंको अशान्तिका क्रममा सयौं प्रदर्शनकारी मारिएको भन्दै उनीमाथि मुद्दा चलाउन खोजिरहेको छ ।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) सँगको कुराकानीमा ८४ वर्षीय युनुसल भने, ‘यदि भारतले उहाँलाई बंगलादेशले फिर्ता नचाहेसम्म राख्न चाहन्छ भने उहाँ त्यहाँ शान्त बस्नुपर्छ ।’

उनले अगाडि थपे, ‘भारतमा बसेर उहाँ बोलिरहनुभएको छ र निर्देशन दिइरहनुभएको छ । यो हाम्रो वा भारतका लागि राम्रो होइन र कसैलाई मन पर्दैन ।’

गत ५ अगस्टमा सत्ताच्युत भएयता हसिना आफ्नो पूर्व सरकारको सबैभन्दा ठूलो संरक्षक र हितैषी देश भारतमै रहेकी छन् ।

सन् १९७५ मा आफ्ना पिता तथा स्वतन्त्रताका नायक शेख मुजिबुर रहमानको हत्या भएको दिन, अगष्ट १५ मा ढाकामा भेला हुन बंगलादेशीहरूलाई आह्वान गर्दै एक सार्वजनिक विज्ञप्ति जारी गरेकी थिइन् ।

हसिनाको टिप्पणीलाई उनको अवामी लिग पार्टीका सदस्यहरूलाई उत्तेजित पार्ने उत्तेजक प्रयासको रूपमा हेरिएको थियो र युनुसले पदभार ग्रहण गरेको पहिलो चरणका दिनमा कानून र व्यवस्थालाई कमजोर बनाएको थियो ।

उनको बाल्यकालको घरबाहिर भएको विरोध प्रदर्शनका क्रममा अवामी लिगका संदिग्ध समर्थकलाई आन्दोलनकारीले लाठी र रड प्रयोग गरी आक्रमण गरेका थिए ।

युनुसले भारतलाई सुपुर्दगीका लागि औपचारिक अनुरोध गरिएको छ वा छैन भन्नेबारे भने केही बताएनन् । उनको सरकारले हसिनालाई स्वदैश फिर्ता गर्ने माग गरिसकेको छैन ।

हसिनाको सरकारमाथि व्यापक मानव अधिकार उल्लंघनको आरोप लगाइएको छ । आरोपमा हसिनाका राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासत र गैरन्यायिक हत्या पनि समावेश छन् ।

हसिना र अवामी लिगका वरिष्ठ व्यक्तिहरूविरुद्ध विद्यार्थीको नेतृत्वमा भएको विद्रोहमाथि प्रहरी दमनमा प्रदर्शनकारीहरूको मृत्यु भएको आरोपमा थुप्रै आपराधिक मुद्दाहरू दर्ता भएका छन् ।