काठमाण्डु-केन्यामा एउटा विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ ।
मध्यकेन्याको न्येरी काउन्टीमा गए राति भएको घटनामा गम्भीर रूपमा जलेका एक दर्जनभन्दा बढी बालबालिकालाई अस्पताल लगिएको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।
केन्याका राष्ट्रपति विलिअम रुटोले घटनालाई भयङ्कर र विनाशकारी भएको भन्दै छानबिन गर्न आदेश दिएका छन् ।
आगलागीको कारण स्पष्ट भइसकेको छैन । त्यसबारे छानबिन भइरहेको प्रहरीकी प्रवक्ता रेसिला ओन्याङ्गोले स्थानीय सञ्चारमाध्यमलाई बताएकी छन् ।
घटनास्थलमा फेला परेका शवहरू चिन्नै नसकिने गरी जलेको अधिकारीहरूले जनाएका छन् ।
सन् २०१७ मा केन्याको राजधानी नाइरोबीमा छात्राहरू मात्र पढ्ने एउटा विद्यालयमा आगजनीको घटना हुँदा १० विद्यार्थीको जलेर मृत्यु भएको थियो ।
दुई दशकअघि नाइरोबीबाट दक्षिणपश्चिममा अवस्थित एउटा विद्यालयमा आक्रमणकारीहरूले आगो लगाइदिँदा कम्तीमा ६७ विद्यार्थीको मृत्यु भएको थियो । उक्त घटना केन्याका विद्यालयमा भएका आगजनीमध्ये सर्वाधिक विनाशकारी थियो ।
सन् २०२२ मा पश्चिमी केन्यामा एउटा विद्यालयको छात्रावासमा आगो लगाएको आशङ्कामा केही विद्यार्थीहरू पक्राउ परेका थिए । विगत तीन दशकदेखि केन्याका विद्यालयहरूमा आगजनी गर्ने आपराधिक प्रवृत्ति देखिएको बताइन्छ ।
प्रतिक्रिया