लामो रस्साकस्सीपछि गृहसचिवमा गोकर्णमणि दुवाडीको सरुवा

लामो रस्साकस्सीपछि गृहसचिवमा गोकर्णमणि दुवाडीको सरुवा


काठमाण्डु – गृह मन्त्रालयको सचिवमा पुग्न सचिवहरूले गरेको प्रतिष्पर्धामा गोकर्णमणि दुवाडीले बाजी मारेका छन् । बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखकले गृहसचिवमा सरुवाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यसचिव एकनारायण अर्यालसँग छुट्टै छलफल गर्ने भनेपछि एजेण्डा पेस भएको थिएन ।

त्यसपछि बिहिबार साँक्र र शुक्रबार बिहान प्रधानमन्त्री ओली र मुख्यसचिव अर्यालसँग गृहमन्त्री लेखकको छलफलपछि गृहसचिवमा गोकर्णमणिको टुंगो लागेको हो । तर, यसको औपचारिक जानकारी बाहिर ल्याइएको छैन ।

गृहसचिवमा प्रधामन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्कैलाई पठाउन चाहेका थिए । लेखकले आफूले नेतृत्व गरेको मन्त्रालयमा आफ्नो रोजाइको सचिव आउनुपर्ने अडान लिएपछि डुवाडीले मौका पाएका हुन् ।

यसअघिका गृहसचिव अर्याल भदौ १४ मा मुख्यसचिवमा बढुवा भएपछि रिक्त भएको सचिवमा गोकर्णमणिले बाजी मारेका हुन् । दुवाडी राष्ट्रिय तथ्यांक कार्यालयको सचिव थिए ।

गृहसचिवका लागि राष्ट्रपतिको कार्यालयमा कार्यरत नारायण प्रसाद शर्मा दुवाडी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुस्कर तथा महालेखा परीक्षकको कार्यालयका सचिव विनोदप्रकाश सिंह पनि प्रतिष्पर्धामा थिए ।

बिहीबारकै बैठकको निर्णयमा उल्लेख गर्ने गरी शुक्रबार गृह सचिवबारे निर्णय गरिएको गृहमन्त्री लेखक निकट स्रोतले जानकारी दियो ।