‘अँध्यारोमा
हाँस्दैछिन् आइमाईहरू
अवसादलाई पर हुर्याउँदै
हाँसी रहेकी छिन आइमाईहरू
आफ्नो हातले मुख छोपेर
तर हाँसो छचल्किँदै छ
…..
उनीहरूको हाँसो पछ्याउँदै
हिँडी रहेको छ एउटा हूल
जो पहिले सम्मोहित हुन्छ
तर जब बुझ्छ रहस्य यस हाँसोको
अनि निल्छ उसले सारा हाँसोलाई
र उनीहरूको एउटा तस्वीर समयको हातमा
दन्त्यकथालाई सुम्पी दिन्छ
दन्त्यकथाले चिप्लो हिलोबाट (झिकेर) सफा गरेर
त्यस हँसीलाई जतनसाथ राख्छ ।’
एकजना हिन्दीभाषी भारतीय कवियत्री लीना मल्होत्राको ‘लडकियाँ हँस रही है’ शीर्षकको कविताबाट आफू अनुकूलका पंक्तिहरू मैले यहाँ प्रस्तुत गरेको छु । यसमा मैले ‘लडकी’को ठाउँमा ‘स्त्री’ शब्दको प्रयोग गरेको छु ।
संसारभरी पारम्परिक समाजमा वर्जनामा बाँची रहेकी स्त्रीहरू झै इस्लामी समाजमा पनि स्त्रीहरूको स्थिति भिन्न छैन
पितृसत्तात्मक समाजमा स्त्रीहरूको स्वातन्त्र्य चाहना र पोरूषेय सामाजिक संरचनात्मक वर्जनासँग संवाद गरिरहेका यी पंक्तिहरू समकालीनको दुःख पनि हो । यो परम्पराको बन्धनमा बाँधिएकी संसारभरीका स्त्रीको साझा दुःख हो । तर यसको अर्को पाटो पनि छ । इतिहासको हरेक कालखण्डमा स्वतन्त्रताको चाहनामा स्त्रीहरूले वर्चस्वको घेरा तोडदै आएको उदाहरणहरू पनि छ । स्वतन्त्रता मानिसको स्वाभाविक गुण हो, जसले वर्जनाहरूलाई भत्काउन प्रेरित गरिरहन्छ । प्रतिरोध, विद्रोह, क्रान्ति आदि यसै स्वतन्त्रताको चाहनाका प्रतीकहरू हुन् ।
हिन्दी भाषाको प्रसिद्ध साहित्यकार यशपालको एउटा उपन्यास छ-दिव्या । बौद्धकालीन ऐतिहासिक पृष्ठभूमिमा लेखिएको यस उपन्यासमा नायिका दिव्या तत्कालीन सामाजिक संरचनाको पौरूषेय वर्जनाबाट मुक्त हुन र आफ्नो सम्पूर्ण अस्तित्वको खोजीमा मध्यरातमा बौद्धसंघमा शरण लिन पुग्छिन् । तर त्यहाँको प्रमुख भन्तेले उनलाई संघमा शरण दिनका निम्ति पिता, पति वा पुत्र कसैको अनुमति आवश्यक पर्ने भन्छन् । तर दिव्याले हिन्दु पिताको घर त्यागेको र प्रेमीले नस्वीकारेकोले आफू स्वतन्त्र नारी भएको परिचय दिन्छिन् । बौद्ध भन्तेले बडो ‘शालीन’ जवाफ दिन्छ–यस सामाजिक संरचनामा नारी स्वतन्त्र हुन सक्दिनन् । उसको नियती पिता, पति वा पुत्रको आश्रयमा हुन्छ । समाजमा वेश्यामात्र स्वतन्त्र स्त्री हुन्छिन् । र, सबै वर्जना भत्काएर आफ्नो स्वतन्त्र अस्तित्वको खोजीमा संघर्ष गरिरहेकी दिव्या स्वतन्त्रताको निम्ति वेश्या हुन पनि तयार हुन्छिन् ।
एक जना ईरानी पत्रकार मसीह अलीनेजादको ‘द विन्ड इन माई हेयर माई फाइट फर फ्रिडम इन मोडर्न ईरान’ पढी रहँदा म लीना मल्होत्राको कविता र दिव्या उपन्यासको त्यो प्रसंग सम्झिरहेको थिएँ ।
संसारभरी पारम्परिक समाजमा वर्जनामा बाँची रहेकी स्त्रीहरू झै इस्लामी समाजमा पनि स्त्रीहरूको स्थिति भिन्न छैन । बरू अन्यको तुलनामा बढी नै छ, भन्नु उपयुक्त हुन्छ । नेपालको तराई मधेशमा घुम्टो झैँ इस्लामी समाजमा ‘हिजाब’ र ‘बुर्का’ धार्मिक संस्कृतिको रूपमा स्त्रीहरूमाथी थोपरिएको छ । ईरानमा यस्तै पारम्परिक वर्जनाको विरूद्ध स्वतन्त्रताको निम्ति संघर्षको प्रतीक बनेकी छिन्म-मसीह अलीनेजाद । स्वतन्त्रताको उत्कट चाहनाको निम्ति उनले आफ्नो जन्मदेश समेत त्यागेर निर्वासन स्वीकार गरेकी छिन् ।
ईरानका शासकहरू हुनत हाल अमेरिकी साम्राज्यवाद विरूद्ध चुनौतीको मुद्रामा छन्, तर धार्मिक वर्जनाले ईरानी समाज आफैमा एउटा सामाजिक सांस्कृतिक जेल हो भन्नुमा दुई मत छैन । र, यस सामाजिक जेल विरूद्ध स्वतन्त्रचेती ईरानी महिलाहरू निरन्तर संघर्ष गरिरहेकी छिन् । ईरानमा स्त्रीहरू सार्वजनिकस्थलमा ‘हिजाब’ बिना खुल्ला अनुहारसहित देखिएमा २४ कोर्राको सजाय कानुन छ । २४ कोर्राको सजाय सहन नसकेर केही प्रतिरोधी स्त्रीहरूको मृत्युसमेत भइसकेको छ । तर आजाद चरी झै स्वतन्त्र आकाशमा विचरण गर्ने चाहना हो कि शासकवर्गको अनेकौँ निर्मम दमनले पनि प्रतिरोधी संघर्ष रोक्न सकेको छैन । ईरानी स्त्रीहरूले फेसबुकमा एउटा पेज खोलेकी छिन्–माई स्टिल्थी फ्रिडम (मेरो लुकेको स्वतन्त्रता) । अलीनेजाद यस संघर्षको सबैभन्दा सशक्त प्रतीक छिन् ।
अलिनेजादको अनुभूतिमा ईरानमा सात वर्षकी बालिकाले सुतेको बेलामा पनि हिजाब लगाई राख्नु पर्छ । यो वर्जना अन्तःमनमा समेत कति गहिरो छ भने ईरानमा उनी तीस वर्षको उमेरमा कुनै दिन लन्डनमा घुमघाम गरिरहेको बेला हावाको एउटा झोँकाले उनको हिजाब बिनाको अनुहारमा कपाललाई छोएपछि उनलाई अनौठो रोमाञ्चको अनुभूति हुन्छ । हिजाबबाट मुक्त उनको कपाल हावामा फर्फर उडनु मात्र पनि उनलाई स्वतन्त्रताको आख्यान झैँ लाग्छ । अलिनेजादको आत्मकथा ‘द विन्ड इन माई हेयर’ ईरानी समाजमा स्त्रीमनको उकुसमुकुस, स्वतन्त्रता प्राप्तिको निम्ति संघर्ष र मानवीय जिविविषाको कथा हो ।
विश्वको प्राचीनतम सभ्यताहरू मध्ये एक पर्सिया (हालको ईरान) सन् १९७९मा अयातुल्ला खुमैनीको नेतृत्वमा क्रान्तिभन्दा पहिले एउटा खुला समाज थियो । इस्लामी क्रान्तिले त्यहाँ शाह रजा पहलवीको शाही शासनको अन्त त गर्यो, तर इस्लामी धार्मिक कानुनको नाममा ईरानलाई एउटा बन्द र कट्टर समाजमा परिणत गरिदियो । इस्लामी धार्मिक कट्टरवादीहरूले हिजाबलाई सांस्कृतिक पहिचान भनेर अनिवार्य घोषित गरे । तर यसको विरोध पनि तत्कालै विरोधपनि शुरू भयो । अलिनेजादको आत्मकथा बलजफ्ती थोपरिएको यस तानाशाहीको विरूद्ध दृढतापूर्वक प्रश्न खडा गर्छ । अलिनेजाद हिजाबको विरूद्ध छैनन्, तर उनी हिजाब लगाउनै पर्ने बलजफ्ती कानुनको विरूद्ध छिन् । उनी ईरानी स्त्रीहरूको ‘छनोटको स्वतन्त्रता’ पक्षमा छिन् । कुुनै महिलाले हिजाब लगाउन नचाहेमा उनलाई जेलमा नहालियोस भन्ने उनी चाहन्छिन् ।
मसीह अलिनेजाद ईरानको एउटा सानो गाउँ घोमीकोलामा अशिक्षित र अत्यन्त गरिब परिवारमा जन्मेकी र हुर्केकी हुन्, जसले सानो उमेरदेखि नै केटी हुनुको कारण वर्जनाहरू झेल्नु पर्यो । उनले इच्छाएर पनि भाई जस्तै साइकल चलाउन पाइनन् । तर त्यतिबेला देखि नै प्रश्न गर्ने र जिद्दी गर्ने उनको बानीले उनलाई कसरी ईरानको इस्लामी शासनविरूद्ध संघर्षको मैदानमा उभ्याईदियो भन्ने गाथा नै उनको तीन सय पन्चानब्बे पृष्ठको आत्मकथाको केन्द्रीय विषयवस्तु हो ।
मसीह अलिनेजादकी प्रेरकशक्ति उनकी अनपढ आमा हुन्, जो आफ्नी छोरीलाई पढाउन चाहन्छिन् । आमा उनको स्वतन्त्र विचारप्रति सहमति राख्दिनन्, तर उनी आफ्नी छोरीको विचारलाई अपराध ठान्दिनन् । विद्यालयमा अलिनेजाद कुरानको आयत मीठो स्वरमा लय हालेर पढनका निम्ति प्रसिद्ध छिन् । तर उनले प्रेम कविता पनि पढेकी छिन् । उनलाई प्रेम कविता मनपर्छ, त्यसैले उनलाई कयौँ कन्ठस्थ पनि छ ।
एकदिन उनलाई कुरानको आयत पढन भनिन्छ, तर कुन सुरमा हो कुन्नी, उनले कुरानको आयतको ठाउँमा प्रेम कविता पढन थाल्छिन् र केटाकेटीहरू खुशीले ताली पिट्न थाल्छन् । यसैकारण उनलाई विद्यालयबाट निष्कासित गरिन्छ । यतिबेला उनकी आमा शिक्षा क्षेत्रका उच्च अधिकारीसँग दृढतापूर्वक विरोध गर्छिन र आफ्ना तर्कहरूबाट उनीहरूलाई निरूत्तर पारी दिन्छिन् । उनको तर्कअनुसार सानो उमेरकी केटीको मनमा अनेक खालका प्रश्नहरू हुनु स्वाभाविक हो र, साना केटाकेटीहरूलाई गलत दिशामा जानबाट रोक्नका निम्ति विद्यालय र व्यवस्थासँग यी प्रश्नहरूको उत्तर हुनुपर्छ । आमा अशिक्षित छिन्, तर उनी आत्मनिर्भर र स्वाभिमानी छिन् । आमाको यो तर्कशीलता र निडरपना नै अलिनेजादको व्यक्तित्वमा प्रतिबिम्बित हुन्छ र उनी शासनसँग निडरतापूर्वक प्रश्न गर्नु र प्रतिरोधमा खडा हुनुमा अभिव्यक्त हुन्छ ।
सानो उमेरदेखि नै किताबहरूको संगतमा रहेकी अलिनेजादले आफ्नो घरको भित्तामा एउटा फ्रेम झुन्ड्याएकी थिइन्, जसमा दार्शनिक डेकार्तका एउटा वाक्य लेखिएको थियो–‘आई थिंक देयरफोर आई एम’ (म सोच्दछु त्यसैले म हुँ) ।
अलिनेजादलाई सोच्ने बानी छ, त्यसैले उनलाई हिजाबले टाउको छोप्नु टाउको छोप्नु मात्रै लाग्दैन । उनलाई हिजाब स्त्रीको सम्पूर्ण अस्तित्व र सोचलाई नियन्त्रण गर्ने ष्डयन्त्र लाग्छ । उनले अनुवादको भरमा चाल्र्स डिकेन्सदेखि कार्ल माक्र्ससम्म पढेकी छिन्, त्यसैले उनको सामू आस्था र भावनाको बलमा संस्कृतिको जामा पहिराइएका प्रतीक र तर्कहरू टिक्न नसक्नु स्वाभाविक नै छ । यसै कारण निष्कासित भएर एउटा स्कूलबाट अर्को स्कूलमा भौतारिन बाध्य भएपनि उनको प्रश्न गर्ने जिद्दी र साहसिक प्रवृत्ति बदलिएन ।
अभिव्यक्तिको स्वतन्त्रताको निम्ति उनले समवयस्क युवाहरूसँग मिलेर उनले एउटा अध्ययन समूह (स्टडी सर्कल) बनाइन्, पर्चा लेखेर राती राती शहरका भित्ताहरूमा टासिन् । उनलाई साथ दिने युवाहरूमा उनको भाई अली र साथी रेजा थिए । पछि रेजासँग उनको बिहे भयो । तर रोचक के छ भने बिहाको बेला अलिनेजादले तलाक (सम्बन्धविच्छेद)को अधिकार आफूसँग रहने शर्त राखिन् । जबकि ईस्लामी समाजमा तलाकको विशेषाधिकार पुरूषलाई हुन्छ । यद्यपि उनको यो बिहे धेरै समय कायम रहेन । रेजाले अर्कै स्त्रीसँग आफ्नो प्रेम रहेको भनेर तलाक लिए । रेजासँग सम्बन्धविच्छेदपछि अलिनेजाद शुरूमा दुःखी त भइन, तर यस्ले आफ्नो क्षमता र सम्भावना पूरा गर्ने मौका दिएको बोधपनि उनले छिट्टै गरिन् । बिहेबाट मुक्तिले उनलाई आफ्नो वैचारिक चाहना र लेखन क्षमताको विकास गराउन अनुकूल अवसर सृजना गरिदिएको थियो ।
अलिनेजादको यस आत्मकथामा ईरानको जेलमा कोँचिएका नागरिक अधिकारकर्मीहरूको अवस्था र स्त्रीहरूको आचरण निगरानी गरिरहेका नैतिक प्रहरीहरू, पर्यावरण र ईरानको परमाणु संयन्त्रदेखि ईरानसँग द्वन्द्वरत् अन्तर्राष्ट्रिय कूटनीतिक विषयहरू जस्ता विषयहरू पनि समानान्तर चलिरहन्छन् । यसमध्ये अलिनेजादको तीखो आलोचनात्मक दृष्टि कहाँ देखिन्छ भने युरोपीय संघ लगायत अन्तर्राष्ट्रिय क्षेत्रकी महिला नेतृहरू, विशेष गरेर अस्ट्रेलिया र जर्मनीकी महिला मन्त्रीहरू ईरानमा नारी अधिकारको निम्ति भइरहेको संघर्षको पक्षमा उभिनुभन्दा बढी राजनयिक भ्रमणको क्रममा संस्कृतिको सम्मानको नाममा टाउकोमा स्कार्फ (हिजाब) बाँधेर ईरानी राज्यसत्ताको तुष्टिकरण गरिरहेकी प्रसंग उनी व्यंग्यपूर्वक प्रस्तुत गर्छिन् । उनले यसलाई अन्तर्राष्ट्रिय महिला आन्दोलन र अन्याय र शोषणविरूद्धको न्यायपूर्ण संघर्षप्रति शासनसत्तामा रहेकी महिला नेतृहरूको धोकापूर्ण प्रवृत्ति ठान्छिन् ।
यस आत्मकथामा सबैभन्दा रोचक, अलिनेजादले ईरानको संसद ‘मजलिस’मा पत्रकारको रूपमा उपस्थितिको प्रसंगहरू हो । आत्मकथामा रिपोर्टिंगको क्रममा जब उनले ईरानको संसद र शासकीय संरचनामा व्याप्त भ्रष्टाचारको वर्णन गर्छिन, लाग्छ यो ईरानको संसद र राजनीति होइन, नेपालकै संसदको वर्णन हो । लाग्छ, ईरान होस् वा नेपाल वा कुनै अन्य देश, सबै एउटै अर्थराजीतिक विश्वव्यवस्थाका अंग छन्, जहाँ विविध आवरणमा साम्राज्यवादी पूँजीवादको नाफामुखी चरित्रले शासनलाई भ्रष्ट बनाएको छ । र, जनप्रतिनिधिहरू अवैध र अकूत लाभ कमाउनका निम्ति नै राजनीति गरिरहेका छन् । सांसदहरू आफूप्रति कृतज्ञ रहुन भनेर सरकारले पनि सांसदहरूको यस भ्रष्टाचारमा सहयोग गरिरहन्छ । शासकवर्गले गरेको जनताप्रतिको यस धोकाधडीका रिपोटिङ्गहरू अखबारहरूको पहिलो पृष्ठमा छापिन्छ र अन्ततः आजित भएर ‘मजलिस’ले उनलाई निष्कासित गरिदिन्छ र प्रेस पास पनि जफत गर्छ ।
उल्लेखनीय के छ भने अलिनेजादलाई विस्फोटक समाचार संसदकै सदस्यबाट प्राप्त हुन्छ । आत्मकथामा अलिनेजाद यो रहस्य उजागर गरेर, ईरानको संसदमा सबै भ्रष्ट छैनन्, त्यस भीडमा केही इमान्दार सांसदहरू पनि छन्, जो जनताप्रति इमान्दार छन् भन्ने सन्देश दिन चाहन्छिन् । उनको रिपोर्टिङ्गहरूले त्यहाँको संसदमा कट्टरपन्थी र सुधारवादी भनेर दुई विरोधी समूह देखिए पनि भ्रष्टाचार र चुनावको नाममा जनतामाथी शासन गर्ने सवालमा सबै एउटै कित्तामा रहेको तथ्य पनि उजागर गर्छ । ईरानको शासकवर्गले उनलाई ‘मजलिस’बाट निष्कासित गर्न सफल भए पनि उनको कलम रोकिँदैन, बरू झन् तिखारिन्छ र जनतामा उनको लोकप्रियता झन् झन् बढदै जान्छ । अन्ततः सरकारले उनलाई ईरानबाट नै बहिष्कृत गरिदिन्छ । र अलिनेजाद लन्दन हुँदे अमेरिका पुग्छिन् ।
ईरानको संसदले जब मसीह अलिनेजादलाई निष्कासित गर्यो, त्यहाँको एउटा ब्लगले शीर्षक राख्यो–‘टू हन्डेड एटी फाइभ डेपुटिज अगेन्स्ट वन जर्नलिस्ट’ (एकजना पत्रकार विरूद्ध २८५जना सांसदहरू) । यसपछि बिबिसीले उनी माथी फीचर रिपोर्ट बनायो, फाइनान्सियल टाइम्सले उनको अन्तर्वार्ता प्रकाशित ग¥यो र उनको परिचय अन्तर्राष्ट्रियस्तरमा अकासियो ।
अलिनेजादमा, अमेरिकाप्रतिको आकर्षण महाशक्ति भएर होइन, मार्टिन लूथर किंगको देश भएर पनि हो । ‘आई ह्याभ अ ड्रीम’ (मेरो एउटा सपना छ) भन्ने मार्टिन लूथर किंगको प्रसिद्ध भाषणसँग उनी धेरै पहिलेदेखि नै परिचित छिन् । त्यसैले ईरानबाट निर्वासित भएर लन्डन र न्युयोर्क पुगे पनि उनको साहसिलो आलोचनात्मक प्रवृत्ति कायम नै छ । ईरानभन्दा बाहिर रहेर उनी ईरानी शासनको अन्यायविरूद्ध मात्रै आलोचक छिन् भन्ने छैन । उनी अमेरिकाको पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको इस्लामोफोबियामाथि प्रहार गर्छिन् र विरोध प्रदर्शनमा अग्रपंक्तिमा भाग लिन्छिन् । त्यसरी नै म्याक्सिकोको सीमामा पर्खाल लगाउने ट्रम्पको घोषणाको विरूद्ध ‘हामी सबै आप्रवासी छौँ, पर्खाल होइन पूल बनाउ’ लेखेको पोस्टर लिएर विरोधमा उभिन्छिन् ।
मसीह अलिनेजाद अहिले अमेरिकामा बस्छिन् र भ्वाइस अफ अमेरिकामा पत्रकारिता गर्छिन् । लन्डनमा रहेको बेला उनले कठिन मिहनेत गरेर अंग्रेजी सिकिन् । अहिले उनले आफ्ना सन्तानलाई ईरानबाट बाहिर ल्याएर आधुनिक शिक्षा दिलाउँदै छिन् । उनी अमेरिकामा रहे पनि आफ्नो ‘माई स्टिल्थी फ्रिडम’ अभियान मार्फन ईरानमा संघर्षरत् महिलाहरूसँग जोडिएकी छिन् । र, त्यहाँबाट प्राप्त हुने शासकीय दमन र आन्दोलनका खबरहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने कामलाई निरन्तरता दिएकी छिन् ।
सन् २०१८मा प्रकाशित अलिनेजादको आत्मकथा ‘द विन्ड इन माई हेयर’ पुस्तक दुई महिना पहिले जतिबेला म पढी रहेको थिएँ, ईरानमा राष्ट्रपतिको चुनावमा कट्टरपन्थी प्रतिद्वन्द्वी सइद जलीलीलाई पराजित गरी सुधारवादी नेता मसूद पजेसकियान विजयी भइसकेका थिए । दुई वर्ष पहिले जति बेला हिजाब नलगाएको अपराधमा ईरानको नैतिक प्रहरीहरूको कुटाईबाट महसा अमीनीको मृत्यु भएको थियो, त्यतिबेला पजेसकियानले तत्कालीन सरकार विरूद्ध अत्यन्त क्रुद्ध वक्तव्य दिएका थिए । त्यसैले यसपटक राष्ट्रपतिको चुनावमा ईरानी महिलाहरूको अधिकतम मत पजेसकियानको पक्षमा गएको सम्भावना व्यक्त गरियो । उनको जीत पछि हिजाब लगाउनै पर्ने अनिवार्यता कानुन समाप्त हुने अपेक्षा गरिएको थियो । तर हालसम्म स्थितिमा कुनै परिवर्तन देखिएको छैन । बरू उल्टो, तीनहप्ता जति भयो होला, तेहरानभन्दा टाढाको नूर शहरमा हिजाब न लगाएर गाडी चलाईरहेकी महिलामाथी ईरानी प्रहरीले गोली चलाएको खबर आएको थियो ।
जसका कारण उनी जीवनभरीको निम्ति पक्षघातग्रस्त भएकी छिन् । यो खबर पढी रहँदा अलिनेजादले संसदमा रिपोर्टिङ्ग गर्दा कट्टरवादी र सुधारवादीहरू भित्र भित्र एउटै रहेको प्रसंग स्मरण हुन आउँछ । ईरानमा इस्लामी क्रान्तिदेखि नै शुरू भएको हिजाब विरोधी आन्दोलनमा प्रदर्शनको क्रममा हालसम्म पाँचसयभन्दा बढी महिला मारिइसकेकी छिन् भने सरकारले १० जनाभन्दा बढीलाई मृत्युदण्डको सजाय सुनाई सकेको छ र १० हजारभन्दा बढी जेलमा छिन् ।
ईरानी परम्परागत समाजमा प्रसिद्ध एउटा उखान उल्लेख गरेकी छिन्, जसमा भनिएको छ–‘छोरीलाई टाउको निहुराउन, विनम्र हुन र पुरूषप्रति आज्ञाकारी हुन पालिन्छ ।’
मसिह अलिनेजादको स्वतन्त्रताको मनोविज्ञान पश्चिमी देशहरूबाट सृजित नवउदारवादी परिभाषामा विकसित भएको देखिन्छ । अहिले पनि उनी अमेरिकामै बसेर हिजाबविरोधी आन्दोलनमा ईरान सरकारविरूद्ध प्रचार गरिरहेकी छिन् । यसको फाइदा अमेरिकी साम्राज्यवादले ईरानविरोधी कूटनीतिमा लिइरहेको पनि सत्य छ । तर यसको निम्ति ईरानको परम्परागत धार्मिक कट्टर शासनको महिला स्वतन्त्रताविरोधी दमनात्मक प्रवृत्ति र गतिविधि मूख्य कारण हो भन्ने तथ्य पनि उत्तिकै यथार्थ छ । यस समग्र परिदृश्यमा अलिनेजादको आत्मकथा पढनुले पाठकमा एकातिर वर्तमानमा पनि परम्परागत स्त्रीहरूको दुःख संसारभरी एउटै रहेको बोध तथा स्वतन्त्रताप्रति अलिनेजादको अनन्त चाहना लोभलाग्दो र प्रेरक भाव उत्पन्न गराउँछ ।
आफ्नो आत्मकथामा एक ठाउँमा अलिनेजादले ईरानी परम्परागत समाजमा प्रसिद्ध एउटा उखान उल्लेख गरेकी छिन्, जसमा भनिएको छ–‘छोरीलाई टाउको निहुराउन, विनम्र हुन र पुरूषप्रति आज्ञाकारी हुन पालिन्छ ।’ यो पढी रहँदा हिन्दु संस्कृतिमा स्त्रीबारे मनुस्मृतिमा भनिएको स्मरण हुन्छ– ‘स्त्री जन्मदा पिता, वयस्क हुँदा पति र वृद्ध हुँदा पुत्रको आश्रयमा बस्नु पर्छ । स्त्री कहिले स्वतन्त्र हुन सक्दिनन् ।’ वस्तुतः धर्म जुनसुकै भए पनि उसको चरित्र नै संकीर्ण हुने गर्छ र स्त्री स्वातन्त्र्य मात्र होइन, संस्कृतिको सबै शोषण र बन्धनबाट मुक्त हुन तपाँईले धर्म, संस्कृति र परम्पराको संकीर्ण बन्धनहरू भत्काउनुको विकल्प हुँदैन । अलिनेजाद र ईरानमा स्त्री स्वातन्त्र्यको आन्दोलन र संघर्षरत्हरू संसारभरीका स्त्रीहरूका निम्ति प्रेरक हुन् । यस अर्थमा अलिनेजादको आत्मकथा पढनु अलग्गै रोमाञ्चबाट गुज्रिनु हो ।
प्रतिक्रिया