प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न-जनयुद्ध महान् थियो भने शान्ति प्रक्रियामा किन आउनु पर्‍यो ?

प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न-जनयुद्ध महान् थियो भने शान्ति प्रक्रियामा किन आउनु पर्‍यो ?


काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमामण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन् । यदि जनयुद्ध महान थियो भने त्यो बाटा किन छाडेको भन्दै उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रश्न गरे ।

२१ औं निजामती सेवा दिवसको अवसरमा आज आयोजित कार्यक्रममा प्रधामन्त्री ओलीले भने, ‘देशमा हिंसा थियो त्यसलाई व्यवस्थापन गर्नुपरेको थियो । त्यसलाई केही मान्छेहरूले अहिले पनि महिमामण्डन गरेको सुन्छु । त्यस्तो महान् थियो भने किन छोड्या त त्यो बाटो ? किन आउनुप¥यो शान्ति प्रक्रियामा ? महान् जनयुद्ध नै थियो भने त सफल पार्नुपथ्र्यो ।’

जनताको नाममा एक मुठ्ठी मान्छेले आफ्नो रहर निर्देशित, प्रायोजित अरु प्रकारका रहरहरू लाद्न खोजियो भने त्यसलाई अस्वीकार गर्नुपर्ने उनले बताए ।

‘मैले पनि झापा आन्दोलनतामा जुन नीति लिएको थिएँ त्यो सही नीति भएनछ । अगाडि बढ्नको लागि त्यो बदलियो । सही भएन त बदल्नुपर्छ । त्यसैले अरुले बनाएका अनावश्यक हिंसा छोड्नुपर्छ बदल्नुपर्छ । हिंसाको महिमा गरेर हामी अगाडि बढ्न सक्दैनौं। त्यसले फेरि खतरा ल्याउँछ । हामी हिंसा नमान्नेहरू त छँदै छौँ । हिंसालाई महिमामण्डन गर्नु हुँदैन । प्रशंसा गर्नु हुँदैन,’ उनले भने ।

देशबाट युवाहरू बाहिरिरहेको भन्दै देश बनाउनुपर्ने जिम्मेवारी आफूहरूको भएको पनि प्रधानमन्त्रीले बताए । उनले अरूलाई दोष दिएर नहुने भन्दै भविष्यका लागि राम्रो स्थिति सिर्जना गर्नुपर्ने दायित्व आफूहरूको भएको उल्लेख गरे ।

उनले देशमा सकारात्मक परिवर्तन ल्याउन जनताको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति दिलाउने गरी काम गरिरहेको पनि बताए ।

कर्मचारीको तलब वृद्धि हुँदैन

प्रधानमन्त्री ओलीले सहमतिमै अब निजामती सेवा ऐन अगाडि बढाउने बताए । उनले भने, ‘निजामती सेवा ऐन निर्माण गर्नुछ, विधेयक पास गर्नुछ । यसका निम्ति हामीले छलफल गर्छौं । अहिले सरकारलाई धेरै अप्ठ्यारो छैन । किनभने सहज बहुमत सरकारसँग छ ।’

ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्न सक्ने अवस्था नरहेको पनि बताए ।

कर्मचारीहरूका समस्याका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तलब वृद्धि गर्न नसकिने उनको भनाइ थियो ।

अर्थतन्त्र बलियो हुँदा एकै पटक २५ प्रतिशत तलब वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्न सक्ने अवस्था नरहेको जिकिर गरे ।