स्याङ्जा – बाँदर आतंकले सताउन थालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् ।
जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै आएका धान, मकै गहुँ, तरकारी बाली छाडेर बाँदरले नखाने काष्ठफलको खेतीतर्फ आकर्षित भएका छन् ।
गल्याङ नगरपालिकाले बाँदरले नखाने वैकल्पिक खेतीका रूपमा कागती, सुन्तला, एभोकाडो, मेकाडेमिया नट लगायतका खेती गर्न कृषकलाई प्रोत्साहन गरेको छ । यहाँका कृषकले स्वतःस्फूर्त रूपमा उखु, सयपत्रीफूल, अदुवा, बेसार, ड्रागनफ्रुड लगायतका खेतीगर्दै आएका थिए ।
विक्रम संवत् २०७८ को राष्ट्रिय कृषि गणनाअनुसार गल्याङ नगरपालिकाभित्र ४ हजार ४२ हेक्टर जमिन खेतीयोग्य छ । हाल यहाँ १ हजार ५१९ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको छ । बाँदरले सताउन थालेपछि कृषक धान, मकै, गहुँ खेतीतर्फ आकर्षित हुन सकेका छैनन् ।
गल्याङ नगरपालिका–५ रुपाखानीका कृषक चन्द्रबहादुर रानाचित्रले बाँदरले हैरानपार्न थालेपछि धान, मकै गहुँ फलाउने खेतमा कागती, उखु, सयपत्रीफूल खेती गर्दै आएको बताए । उनी विगत ५ वर्षदेखि व्यावसायिक रूपमा बाँदरले नखाने काष्ठफल र अन्य खेती गर्दै आएका छन् ।
‘बाउबाजेले धान, मकै, कोदो छर्ने गरेको खेती छोडेर ५ वर्षदेखि सयपत्री र कागती खेती गर्दै आएको छु । मेरो उत्पादन देशका विभिन्न शहरमा पुग्छ,’ उनले भने, ‘गत वर्षदेखि उखु समेत लगाउन थालेको छु । परम्परागत खेतीभन्दा तेब्बर आम्दानी दिएको छ ।’
गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले नगरपालिकाभित्र बाँदर आतंक बढेकाले कृषकलाई बाँदरले क्षति नगर्ने बालीलगाउन सुझाव दिएको बताए । उनले बाँदर नियन्त्रणका लागि केन्द्र र प्रदेश सरकार समेतले ठोस योजना बनाउन नसकेको अवस्थामा गल्याङ नगरपालिकाले बाँदरले नखाने प्रजातिका काष्ठफललाई प्राथमिकता दिएको सुनाए ।
‘लामो समयसम्म उत्पादन दिने, पहाडी भेगका लागि हावापानी मिल्ने, एक पटक हुर्काइसकेपछि धेरै मेहनत गर्नु नपर्ने, उत्पादन लागत कम लाग्ने काष्ठफल लगाउन कृषकलाई प्रेरित गरेका छौं,’ उनले भने, ‘विश्वास छ काष्ठ फल खेतीले यहाँका जनतालाई आत्मनिर्भर बनाउँदै जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्छ ।’
प्रतिक्रिया