एजेन्सी–उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्याङ्कर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ ।
नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा) का प्रवक्ता इब्राहिम हुसेनीले घटनाबारे एएफपीसँग भने “आइतबार बिहान भएको दुर्घटना र विस्फोटपछि मृतकको सामूहिक अन्त्येष्टि गरिएको छ ।”
“पीएमएस (ईन्धन) लोड गरिएको पेट्रोल ट्याङ्कर यात्रु र गाईवस्तु बोकेको ट्रेलर ट्रकसँग ठोक्किँदा यो घटना भएको हो,’ सेमाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उक्त दुर्घटनामा अन्य दुई सवारी साधन, एउटा क्रेन र एउटा पिकअप भ्यान पनि दुर्घटनाग्रस्त भएका छन् ।
अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा इन्धन ट्याङ्कर विस्फोट हुँदा पटक पटक ठूलो सङ्ख्यामा मानवीय हताहत हुने गरेको छ । इन्धन ट्याङ्करको दुर्घटनापछि स्थानीयले जोखिम लिई चुहिएको इन्धन चोर्ने प्रयास गर्दा आगलागी हुने र यसबाट ठूलो सङ्ख्यामा मानवीय क्षति हुने गरेको पाइन्छ ।
सडकको खराब अवस्था, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण अफ्रिकामा यस्ता दुर्घटना हुने गरेको पाइन्छ ।
प्रतिक्रिया