सन् २००७ को सेम्टेम्बरमा अमेरिकाको केस वेस्टर्न रिजर्भ युनिभर्सिटीको वेदरहेट स्कूल अफ म्यानेजमेन्टमा सर्टिफिकेसनको अन्तिम दिनमा परिकल्पना नेपालको निर्णयअनुसार प्रशंसनीय खोजको चौथो विश्व सम्मेलन नेपालमा गर्ने निर्णय भएको छ । त्यसकारण हामी सम्मलेन आयोजना गर्दछौं भन्ने प्रस्ताव राख्दा प्रोफेसर डेभिड निकै खुशी हुनुहुन्थ्यो ।
निकटमै ओर्लेन्डोमा हुन गइरहेको तेस्रो सम्मेलनमा परिकल्पना नेपालका अध्यक्ष डा. ध्रुव आचार्यको उपस्थितिमा औपचारिक घोषणा गर्ने सहमतिअनुसार सन् २००७ मा ओर्लेन्डोमा चौथो विश्व सम्मेलन नेपालमा हुने घोषणा गरियो । त्यसपछि सम्मेलन तयारीका लागि प्रोफेसर डा. डेभिड कुपरराइडरको अध्यक्षतामा डा. ध्रुव आचार्य, डा. गणपति ओझा, डा. लिन्सी गडविन, म, डा. म्याक वोडेल, फिलिप बेलिन भएको एक अन्तर्राष्ट्रिय तयारी समिति बन्यो र यो समितिले प्रत्येक शुक्रवार स्काइप मिटिङ गरी तयारी कार्यहरू गर्दथ्यो । तयारीको समयमा अमेरिकामा राष्ट्रपतिको चुनाव थियो र चुनावको मैदानमा बराक ओबामा र जोन म्याकेन थिए ।
नेपालमा भर्खर चुनाव सकिएर माओवादीको सरकार बनेको थियो । संविधान सभामा संविधान सम्बन्धी छलफल भइरहेको थियो । एक दिन हाम्रो तयारी बैठक थियो, सहकर्मी डा. लिन्सी गडविनेले ‘आज अमेरिकामा चुनाव छ, म भोट हाल्न जानु छ, बैठक छोटो गरौं है’ भन्नुभयो ।
मैले अलि ठट्यौली पारामा त्यो त ठीक छ तर के तपाईं पनि भोट बराक आवामालाई हाल्नुहुन्छ भनेर सोधें । जवाफमा उहाँले एकदम गम्भीर जवाफ फर्काउनुभयो, जसले सधैं मलाई झस्काइरहन्छ । उहाँको जवाफ सुनेपछि मलाई भित्रैदेखि लाग्यो – वास्तवमा देश विकासमा नेतृत्वको भूमिका त अहम् हुन्छ नै तर राम्रो नेतृत्व छान्न अतिमहत्त्वपूर्ण भूमिका नागरिकहरूको नै हुने रहेछ । लोभ, लालच, नाता, प्रभाव आदिमा परेर छानिएको नेतृत्वले परिणाम दिँदैन । जुन कुरा नेपालीले बारम्वार भोगरे पनि चेतेका छैनन । २००७ मा अमेरिकामा केही कट्टरवादीहरूले जातीय र नश्लीय नारा पनि लगाएका थिए र बराक ओबामालाई अश्वेत पनि भन्थे तर सचेत गोरा नागरिकहरूले ओबामा अमेरिकाका लागि अमूल्य रत्न हुन् भन्ने कुरा चिनेर जातीय तथा नश्लीय आवरणलाई तिरस्कार गरे ।
मित्र लिन्सी गडविनको मार्मिक उत्तर र चेतनाको गुणस्तरले देश, समाज र आगामी पुस्ताको भविष्यप्रति हर नागरिक कति संवेदनशील, जागरुक र बौद्धिक हुनुपर्छ भन्ने चित्रित गर्दछ । बिस्तारै तर मार्मिक तरिकाले मेरो जिज्ञासाको उत्तर दिँदै भनेकी थिइन्, ‘हेर आरसी म अहिले पहिलो बच्चाका लागि ४ महिनाकी गर्भवती छु र मेरो जन्मिने बच्चाको भविष्यका लागि निश्चित रूपमा मैले बाराक ओबामालाई नै भोट हाल्नपर्छ । किनकि उनी एक्काइसौं शताब्दीको अमेरिकाका लागि र अहिलेको र आउने पुस्ताका लागि उपयुक्त प्रतिनिधि हुन् । भनाइ छोटो छ तर कति गम्भीर र मार्मिक छ । प्रायः अमेरिकीहरूको यहीँ सुझबुझपूर्ण सोचले नै प्रत्येक पटक अमेरिकीहरूले सक्षम र योग्य व्यक्तिलाई राष्ट्रपतिको रूपमा छान्छन् । उमेरले लिन्सी मभन्दा कम उमेरकी छन् भने अध्ययनको हिसाबले पनि हामी दुवै जना विद्यावारिधि गर्दै भए पनि सोच्ने शैलीमा कति फरक रहेछ, मलाई त्यो दिन महसूस भयो । हामीले तयारी गरेको त्यो सम्मेलन ४२ देशका ४०० जना सहभागीहरूको उपस्थितिमा भव्यताका साथ सफल भयो भने तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । यसबाट के पनि प्रमाणित हुन्छ भने सिक्न योग्य कुरा छन् भने नेपाल पनि संसारभरका मानिसको गन्तव्य हुनसक्छ । आगामी नेतृत्वले यसतर्फ ध्यान देओस् ।
हाम्रो त्यो तयारी बैठकको केही समय पहिला मैले पनि भरतपुरमा भोट हालेको थिए तर मैले कहिल्यै पनि उम्मेदवारको चरित्र, योग्यता, क्षमता, वुद्धि, बर्कत, सामाजिक योगदान केही पनि नसोची देखाएर भोट हालेको थिए तर लिन्सीको त्यो भनाइले मेरा आँखा खोलिदियो र त्यस उपरान्त मलाई सोच्न बाध्य बनाएको छ । उम्मेदवारको चरित्र, योग्यता र दक्षतालाई मापदण्ड बनाएर भोट दिने गरेको छु । बिडम्बना भनौं – मेरो बसोबास र भोटरलिस्टको नाम फरक ठाउँबाट भएका कारण त्यसपछि जम्मा एक पटकभन्दा बढी भोट हाल्न पाएको छैन । अब पार्टीको टिकटले मात्रै मेरो रोजाइको मापदण्ड पूरा गर्दैन । एक भोट हाल्दा विचार नगर्ने, कुपात्रलाई उम्मेदवार बनाउने, पार्टीको घेरा तोड्न नसक्ने, मिठो मसिनोमा बिक्ने अनि देश विकास भएन, कतार र मलेसियामा भाइ–छोराले दुःख पाए भन्ने बुवाआमा पनि वास्तवमा एक प्रकारका अपराधी नै हुन् । त्यसकारण सधैं नेतृत्वलाई मात्र दोष दिनुभन्दा पहिला आफ्नो रोजाइबारे पनि निर्मम तरिकाले समीक्षा गर्नुपर्छ । पार्टीहरू कुनै अमुक व्यक्तिको सेवासुविधा र सुखसयलका लागि होइनन्, सबैभन्दा पिँधमा रहेका अन्यायपूर्ण तरिकाले पछाडि पारिएका वर्ग र समुदायको समुन्नति र हितका लागि हुन् । नेतृत्व सक्षम त हुनैपर्छ तर सक्षम नेतृत्वलाई साथ दिने नागरिक पनि हुनैपर्छ । दासको चरित्र बोकेर नागरिक अधिकारको सदुपयोग गर्न सकिँदैन ।
करीब विगत १७ वर्षदेखि सकारात्मक नेतृत्व विकास र व्यवस्थापनको प्रशिक्षक भएर काम गर्दा मेरा यिनै भोगाइहरू, अध्ययन र जीवन अनुभवहरूले सिंगो विकासलाई नेतृत्वले प्रभाव पार्दछ भन्ने मान्यता विकास भएको छ । नेतृत्व भनेको एक व्यक्ति वा समूहले सिंगो समुदायलाई एक साझा उद्देश्य प्राप्तिका लागि उत्प्रेरित गरी योजनाबद्ध रूपमा कार्यहरू गर्न अभिप्रेरित गरी सकारात्मक परिणाम प्राप्त गर्न अगुवाइ गर्ने कला हो । कुनै पनि देश, समुदाय वा संघसंस्थाको सफलताका लागि नेतृत्वको मुख्य भूमिका हुन्छ । प्रतिस्पर्धी, सक्षम र सकारात्मक नेतृत्वले विद्युतीय गतिमा आफ्नो देश वा संगठनलाई सकारात्मक रूपान्तरण गर्न सक्छन् । यस्ता प्रतिस्पर्धी र सकारात्मक नेतृत्वमा दूरदर्शी दृष्टिकोण, परिवर्तनप्रतिको तीव्र अभिलाषा, लोकतान्त्रिक आचरण, सकारात्मक सोच, अद्वितीय नैतिकता, उच्च स्तरको जिम्मेवारीबोध, जवाफदेहिताप्रति दृढता, सहकार्य र सद्भाव, नागरिकहरूलाई उत्साह र उत्प्रेरित गर्न सक्ने क्षमता, अत्यन्तै प्रतिकूलतामा पनि सही निर्णय लिन सक्ने क्षमता जस्ता गुणहरू हुन्छन् । सही नेतृत्वकै कारण सिंगापुर, चीन, मलेसिया, रुवान्डा लगायत देशहरूले छोटो समयमा नै तीव्र विकास गरेर रेकर्ड कायम गर्न सकेका हुन् ।
सही र सकारात्मक तरिकाले बुझ्ने हो भने सकारात्मक नेतृत्व भनेको भगवान् नै हो, जसले हर नागरिकको मुहारमा खुशी ल्याउन सक्दछ । यसको विपरीत नेतृत्वको रूपमा रहेको दानवीय चरित्रले आफ्नै अनुयायी वा नागरिकहरूलाई सधैं आँसु भेल र बेदनाको पहाड मात्रै दिन्छ । सदैव नकारात्मक कुराहरू गरेर राष्ट्रिय माहोल नै नकारात्मक बनाउँछ । सीमित घेरामा रहेका असूर (दानव) प्रवत्तिसँग रमाउँछ । एक जना मुख्य नेतृत्वको क्षमता, सकारात्मक सोच र शैलीले देशमा भएको सीमित स्रोत र साधनलाई पनि अधिकतम रूपमा प्रस्फुटन गराएर तीव्र विकास गराउन सक्दछ भन्ने कुरा इजरायल, सिंगापुर, मलेसिया, कतार, दुबई, चीन, क्युवाबाट लिन सकिन्छ भने नकारात्मक सोच, असक्षमता, गुट र परिवारवादी चिन्तनको नेतृत्व भयो भने अत्याधिक स्रोतसाधनका बाबजुद पनि देश विकासको गति शून्यप्रायः हुन्छ र राष्ट्र नै असफल हुन्छन् । पर्याप्त स्रोतसाधन हुँदाहुँदै पनि असक्षम नेतृत्वका कारण असफल भएका राष्ट्रहरूमा सोमालिया, दक्षिण सुडान, लिविया, यमन, लाइवेरिया आदि हुन् भने नेपाल, हैटी, अफगानिस्थान, इथोपिया अति कम विकसित देशहरू हुन् । त्यसकारण देश विकासको प्रथम तत्व भनेको नेतृत्वको क्षमता हो । त्यसकारण सबै नेपालीले के बुझ्न जरुरी छ भने नेपालसँग आफूलाई विकास गर्न चाहिने पर्याप्त स्रोतसाधनहरू छन् । नेपाल आफैंमा पर्याप्त जनशक्ति भएको देश हो । एक समृद्ध र विकसित देश हुनका लागि चाहिने पर्याप्त प्राकृतिक स्रोतसाधन छन् भने सामाजिक र सांस्कृतिक स्रोतमा यो विश्व प्रसिद्ध छ । त्यसकारण हरघरमा हरजनले यो प्रश्नको उत्तर खोज्नुपर्यो ? के कारणले हाम्रो देश यो अवस्थामा छ र के कारणले विकसित देशको रूपमा रूपान्तरण हुन्छ ? यो देशको सकारात्मक रूपान्तरणमा नागरिकको रूपमा मेरो भूमिका के हो ? मैले खेल्नुपर्ने भूमिका खेल्न सके कि सकिनँ ?
एकछिन विचार गरौं त हाम्रो देशमा औपचारिक विकासको नेतृत्व गर्ने जनप्रतिनिधिमूलक संस्थाहरू हुन् र यी संस्थाहरू वडादेखि संघसम्म फैलिएका छन् । हाम्रो देशमा स्रोतसाधन कति छ भन्दा पनि वडादेखि संघसम्म नेतृत्व गर्ने नेताहरूको सोच, क्षमता, योग्यता, दक्षता, जवाफदेहिता, जिम्मेवारी र नैतिकताको गुणस्तरले नै देश, प्रदेश, स्थानीय तहहरू र वडाहरूको विकासको गतिलाई निर्धारण गर्दछ । नेपाल स्वयं र प्रत्येक वडाहरू आधुनिक विकासका लागि योग्य र स्रोतसाधनले भरिपूर्ण छन् । केवल नेतृत्वको कार्यशैली, सोच र क्षमताले विकास हुनु र नहुनुलाई निर्धारण गरेको छ । उदाहरणका लागि गोर्खाको गण्डकी गाउँपालिकामा ६१ जना कृषकहरू खेतीमा अत्यधिक विषादी प्रयोग भएका कारण क्यान्सरबाट पीडित छन् ।
संघीय सरकारको विकास बजेट ४० प्रतिशत पनि खर्च हुन सक्दैन । सुदूरपश्चिम प्रदेश सरकार बजेट भ्याकेन्टबाट गुज्रियो । बेरुजु र भ्रष्टाचारले डाँडो काटेको छ । यसले के देखाउँछ भने हाम्रो देशमा सबै तहको नेतृत्वमा असक्षम व्यक्तिहरूको भीडभाड छ । गण्डकी प्रदेशमा २ पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकारले पूर्णता पाउन महिनौं लाग्यो भने १ जना मन्त्रीले त मन्त्रालयमा नै बिक्रीमा राखे । असक्षमता, अयोग्यता र नैतिक खडेरीको योभन्दा अर्को ठूलो उदाहरण के होला ? नयाँ संविधान बनेको १० वर्ष भइसक्यो तर देशलाई चाहिने ऐन–कानूनहरू बन्न सकेका छैनन् । दिनदिनै संसद् बैठक हुन्छ, छलफल हुन्छ, टेबल ठोकाठोक हुन्छ, बहस भयो भनिन्छ तर देशलाई चाहिने निजामती ऐन, शिक्षा ऐन १० वर्षसम्म आउँदैनन् ।
एकछिन विचार गरौं त कस्तालाई भाग्य र भविष्यको जिम्मेवारी दिएका छौं ? नेपाली समाज पहिला जस्तो होइन, ५० को दशकमा एक गाउँमा एकजना बीए पास गरेको मान्छे पाउन गाह्रो थियो । अहिले त गाउँगाउँमा क्याम्पसहरू खुलेका छन्, कि त गाउँमा मान्छे नै छैनन्, यदि छन् भने पढालेखा मान्छेहरू पनि छन । तर जब चुनाव हुन्छ, हाम्रो भोटको प्रवाह २०४७ सालको जस्तै देखिन्छ । के हाम्रो परिस्थितिमा परिवर्तन भएको छैन । आर्थिक, सामाजिक, प्राविधिक, सांस्कृतिक अवस्थामा आएको परिवर्तनलाई २०४७ सालकै जनप्रतिनिधिहरूले सम्बोधन गर्न सक्छन् ? व्यक्तिको ल्याकत, क्षमता, योग्यता आवश्यक हुँदैन ? समाजको निरक्षर वर्गको कुरा फरक हो तर यहाँ त प्रश्न उठ्छ, पढालेखा सचेत वर्ग छ कि छैन ? प्रश्न अब नेतृत्वको होइन, प्रश्न त अब नागरिकलाई सोध्नुपर्छ ।
विकासको गति र नागरिकको खुशी नेतृत्वको क्षमतासँग जोडिएको हुन्छ । सकारात्मक र सक्षम नेतृत्वले देशलाई समृद्धि, स्थिरता, दीर्घकालीन प्रगतितर्फ अग्रसर गराउँछ । नेतृत्व भनेको केवल नीति निर्माण वा निर्देशन दिने कुरा मात्र होइन, यो त समुदायलाई सहअस्तित्व र सहकार्यका साथ अग्रसर गराउने प्रक्रिया पनि हो । सय दिनमा १० लाख मानिसको ज्यान गएको रुवाण्डामा पाँल कागामेको भिजन र प्रतिबद्धताले त्यो देशले काचुली फेरेको छ भने छोटो समयमा उच्च आर्थिक तथा सामाजिक लगायतका चौतर्फी विकासका लक्ष्यहरू प्राप्त भएका छन् । क्युवाको स्वास्थ्य प्रणाली संसारकै उत्कृष्ट स्वास्थ्य प्रणाली हो । चीनमा ४० करोड मानिसहरू गरीबीको रेखामाथि आए । मलेसिया, दक्षिण कोरिया, सिंगापुर तीव्र रूपमा विकास भए । त्यहाँको नेतृत्वले आफू सत्तामा आएपछि दक्ष र व्यावसायिक व्यक्तिहरूलाई सारथीको रूपमा रोजे उच्च दूरदृष्टि र प्रतिबद्धताका साथ काम गरे र ती व्यक्तिहरू निरन्तर जनअनुमोदित भए । त्यसकारण नेताले विकास गरेनन्, नेताले देश बिगारे भनेर विलाप गर्नुको बदलामा कस्ता व्यक्तिलाई नेता मान्ने, नेताको योग्यता, दक्षता र सक्षमताको बारेमा बहस गरौं र सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्न लोेकतन्त्रलाई सही तरिकाले सदुपयोग गरौं । समाज र देशको सकारात्मक रूपान्तरणमा सहभागी बनौं ।
प्रतिक्रिया