कस्तो रह्यो ह्यारिस–ट्रम्पको पहिलो बहस?

कस्तो रह्यो ह्यारिस–ट्रम्पको पहिलो बहस?


काठमाण्डु-यसै वर्षको नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि दुई उम्मेदवारहरू वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पहिलो पटक सार्वजनिक नीतिगत बहसमा उत्रेका छन् ।

अमेरिकी टेलिभिजन च्यानल एबीसी न्यूजमा प्रत्यक्ष प्रसारण गरिएको बहसको पहिलो आधा घण्टामा दुवै उम्मेदवारले बारम्बार एक अर्कालाई झुटो बोल्ने व्यक्ति भनेका थिए ।

सुरुमा संयमित रूपमा भएको विषयवस्तु केन्द्रित बहसमा उनीहरू राजनीतिक विगतमा पुग्दै व्यक्तिगत आरोप प्रत्यारोपमा मोडिएका थिए । त्यस क्रममा ट्रम्प बढ्ता आक्रोशित देखिएका थिए ।

ह्यारिसले ट्रम्पलाई उक्साउने गरी उनका र्‍यालीहरूमा भिडको प्रकृति अर्थात् कार्यक्रम नसकिँदै भिड बाहिरिने गरेको कुरा उठाइन् भने ट्रम्पले ह्यारिसको डेमोक्रेटिक पार्टीले अमेरिकालाई भेनेजुएला बनाउन खोजेको आरोप लगाए ।

 

ट्रम्पका र्‍यालीबाट मानिसहरू निराश भएर छिट्टै बाहिरिने गरेको भन्दै ह्यारिसले आलोचना गरेकी थिइन् भने बाइडन प्रशासनको अफगानिस्तानबाट बाहिरिने निर्णयलाई लिएर ट्रम्पले उनीमाथि हमला गरेका थिए ।

राष्ट्रपतीय उम्मेदवारहरूले अमेरिकी अर्थतन्त्रबाट बहस सुरु गरेका थिए । त्यस क्रममा पूर्वराष्ट्रपति ट्रम्पले अन्य देशहरूमाथि कर लगाउने कुरामा जोड दिए भने उपराष्ट्रपति ह्यारिसले लघु उद्यमहरूबारे कुरा गरिन् ।

गर्भपतन अधिकारका विषयमा ट्रम्पले यस मुद्दालाई पुनः राज्यहरूसम्म ल्याउन सहयोग गरेको बताए भने ह्यारिसले गर्भपतनसम्बन्धी प्रतिबन्धहरूले महिलाको महत्त्वपूर्ण स्याहारको विषयलाई नकार्ने बताइन् ।

ट्रम्पले ह्यारिसलाई इतिहासकै सबैभन्दा खराब उपराष्ट्रपति भन्दै युक्रेनमा रुसी अतिक्रमण हुनुअघि वार्ता गर्न गएको तर युद्ध रोक्न असफल भएको आरोप लगाए ।

युक्रेनले रुसमाथि जित हासिल गरेको हेर्न चाहनुहुन्छ भनेर ट्रम्पलाई सोधिएको प्रश्नमा उनले आफूले युद्धको अन्त्य चाहेको जबाफ दिए ।
ह्यारिसले टेलिभिजन हेरिरहेका करोडौँ मानिसहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै अमेरिकीहरूबारे आफूले विशेष ध्यान दिने तर्क बारम्बार प्रस्तुत गरिन् । त्यसक्रममा उनले ट्रम्पले धनीहरूलाई मात्र हेरिरहेको आरोप लगाइन् ।

विदेश नीतिका विषयमा ह्यारिसले विश्व नेताहरूले ट्रम्पलाई हास्य पात्र बनाएको र ट्रम्पले तानाशाहीहरूलाई मात्र प्रभावित पार्न खोजेको आरोप लगाइन् ।

ट्रम्पले भने पछिल्ला केही वर्षका भूराजनीतिक सङ्कट आफू नेतृत्वमा भएको भए नहुने थियो भने ।

९० मिनेट चलेको बहस अन्त्य गर्ने बेला ह्यारिसले आफू भविष्यप्रति केन्द्रित रहेको बताइन् ।

त्यसको जबाफ दिने क्रममा ट्रम्पले यदि उनीसँग योजना भएको भए उनले उपराष्ट्रपतिकै रूपमा फत्ते गर्नुपर्ने बताए ।