फिदा हुसेन हत्याको विरोधमा प्रदर्शन, गृहमन्त्री थापाको राजीनामा माग

फिदा हुसेन हत्याको विरोधमा प्रदर्शन, गृहमन्त्री थापाको राजीनामा माग


सुनसरी – सुनसरीको दुहबीमा अज्ञात समूहले स्थानीय बाबा इँटा उद्योगका म्यानेजर फिदा हुसेनको बुधबार बिहान गोली हानी हत्या गरेको विरोधमा स्थानीयले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका छन् ।

मोटरसाइकलमा आएका अज्ञात समूहले दुहबी बजारभन्दा केही पर नहरको डिलमा उनीमाथि गोली हानेका थिए । गोली लागी घाइते हुसेनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।  विराटनगर इटहरी सडक खण्डमा मृतकको शवसहित प्रदर्शनमा उत्रिएका उनीहरुले हत्यामा संलग्नलाई २४ घण्टाभित्र सार्वजनिक गर्न पनि माग गरेका छन् ।

धेरै संख्यामा आएका प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई उचित राहत दिनुपर्ने, मृतक हुसेन विद्युत प्राधिकरणका जागिरे भएकाले उनको ठाउँमा छोरालाई जागिर दिनुपर्ने मागसमेत गरेका छन् । स्थानीयले हुसेनको शवलाई गाडीमा राखेर सडकमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण विराटनगर इटहरी खण्डमा आवागमन बन्द भएको छ ।

हुसेनलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । ‘हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन’, एसपी अधिकारीले भने, ‘यसबारे हामीले अनुसन्धान गरिरहेका छौं ।’

मुस्लिम समूदायमाथि लक्षित गरी बारम्बार यस्ता घटना दोहोरिन थालेको भन्दै सो समुदायका अगुवाले चिन्ता व्यक्त गरेका छन् । यसअघि, सुनसरीको हरिनगरा–२ मा खुर्सिद आलमको यसै गरी गोली हानी हत्या भएको थियो ।