प्याज र बासमती चामलमा भारतले न्यूनतम निर्यात मूल्य हटायो, नेपालमा मूल्य घट्ने

प्याज र बासमती चामलमा भारतले न्यूनतम निर्यात मूल्य हटायो, नेपालमा मूल्य घट्ने


काठमाण्डु-भारतले प्याज र बासमती चामलको निर्यात शुल्क २० प्रतिशत कायम गर्ने निर्णय गरेको छ ।

भारतका गृहमन्त्री अमित शाहले केन्द्र सरकारले किसानलाई उनको उत्पादनको उचित मूल्य दिलाउनका लागि निर्यातलाई बढाउने निर्णय गरेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा गृहमन्त्री साहले किसानको हितलाई ध्यानमा राखी तीन वटा महत्वपूर्ण निर्णय गरिएको जनाएका हुन् ।

जसमा सरकारले प्याजमाथि न्यूनतम निर्यात मूल्य हटाउने र निर्यात शुल्कलाई ४० प्रतिशतबाट २० प्रतिशत कायम गर्ने निर्णय गरिएको छ । यसले प्याजको निर्यात बढ्ने र प्याज उत्पादक किसानको आम्दानी पनि वृद्धि हुने हुने जनाइएको छ ।

त्यसैगरी बासमती चामलमा पनि न्यूनतम निर्यात मूल्य हटाउने भारत सरकारले गरेको छ । जसले गर्दा बासमती चामलको उत्पादन गर्ने किसानलाई राहत हुनेछ ।

यस्तै सरकारले काँचो पाम, सोया र सूर्यमुखी तेलको आयात कर १२.५ प्रतिशतबाट बढाएर ३२.५ प्रतिशत पुर्‍याएको छ भने यसका रिफाइन्ड तेलको कर १३.७५ प्रतिशतबाट बढाएर ३५.७५ प्रतिशत पुर्‍याइएको छ ।

भारत सरकारको उक्त निर्णयबाट नेपालमा प्याज र बासमती चामलको आयातमा सहजता हुने देखिएको छ । प्याज निर्यात सहज हुँदा मूल्य पनि सस्तो हुने अनुमान गरिएको छ ।

पछिल्लो केही महिनादेखि देशैभर प्याज १४० देखि १५० रुपैयाँमा कारोबार हुँदै आएको छ ।