रविले गोर्खा मिडिया नेटवर्कमा लिएको १५ प्रतिशत (स्वेट) शेयर गैरकानुनी

रविले गोर्खा मिडिया नेटवर्कमा लिएको १५ प्रतिशत (स्वेट) शेयर गैरकानुनी


काठमाण्डु – सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले लिएको १५ प्रतिशत स्वेट शेयरलाई गैरकानुनी भएको निष्कर्ष निकालेको छ ।

समितिका एक सदस्यका अनुसार समितिले आज प्रतिनिधि सभा बैठकमा बुझाउने प्रतिवेदनमा त्यो शेयर गैरकानुनी हुँदाहुँदै रवि लामिछानेले किन लिए भन्ने प्रश्न उठाएको छ ।

लामिछानेले समितिले लिएको बयानमा आफूले गोर्खा मिडिया नेटवर्कमा १५ प्रतिशत स्वेट शेयर लिएको स्वीकारेका थिए । भदौ ७ गते शुक्रबार अपरान्ह ४ बजेदेखि साति साढे १० बजेसम्म बयान दिएका लामिछानेले समितिका ५० प्रश्नको जवाफ दिने क्रममा आफूले स्वेट शेयर लिएको बताएका थिए ।

नेपालको कानुनले स्वेट शेयरको व्यवस्था गरेको छै्रन । अझ एउटा व्यक्तिलाई स्वेट शेयर दिँदा अर्को लगानी गर्ने व्यक्तिलाई घाटा हुन्छ । त्यो विषय पनि समितिले प्रतिवेदनमा उल्लेख गरेको एक सदस्यले बताए ।

समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई कारबाहीका लागि लेखिपठाउने समितिले निर्णय गरेको छ ।