प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच असोज ६ गते न्यूयोर्कमा भेटघाट हुने

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच असोज ६ गते न्यूयोर्कमा भेटघाट हुने


काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच असोज ६ गते अमेरिकाको न्यूयोर्कमा भेटघाट हुने भएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आयोजना गर्ने ‘समिट अफ द फ्युचर’का अवसरमा दुई देशका प्रधानमन्त्रीबीच भेटघाट हुने सम्भावना रहेको नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोली असोज ४ गते न्यूयोर्क जाँदैछ । ओली प्रधानमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

ओली र मोदीबीचको भेटघाट पुष्टि हुन बाँकी रहे पनि भारतीय पक्षबाट सकारात्मक संकेत पाएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

नेपाली पक्षले मोदीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता मिलाउन चाँजोपाँजो गरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय प्रधानमन्त्री मोदी असोज ५ मा अमेरिकी राष्ट्रपति जो बाइडेनको गृहनगर डेलावेयरमा हुने चतुर्पक्षीय सुरक्षा संवाद (क्वाड) शिखर सम्मेलनमा सहभागी हुनेछन् । क्वाड शिखर सम्मेलनपछि मोदी असोज ६ गते न्यूयोर्क जानेछन् । त्यहाँ उनले भारतीय डायस्पोरालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि पार्वथनेनी हरिशसँग गत सोमबार न्यूयोर्कमा वार्ता गरी दुई नेताबीचको भेटवार्ताको सम्भावनाका विषयमा छलफल गरेका थिए ।

न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुका साथै प्रधानमन्त्री ओलीले दुई प्रतिष्ठित विश्वविद्यालय हार्वर्ड र कोलम्बियामा पनि सम्बोधन गर्ने कार्यक्रम छ ।