काठमाण्डु-रास्वपाका नेता शिशिर खनालले सहकारी प्रकरणमा रवि लामिछानेमाथि लगाइएको आरोपमा तथ्य नभएको दाबी गरेका छन् ।
सहकारी छानबिन संसदीय समितिका सदस्य पनि रहेको खनालले सहकारी घोटालामा लामिछानेको कुनै भूमिका नरहेको समितिले प्रष्ट गरेको दाबी गरे ।
सहकारी छानबिन समितिको प्रतिवेदनबारे ब्रिफिङ गर्दै उनले भने, ‘समितिमार्फत राज्यको सबै संयन्त्र प्रयोग गरेर खोजी गर्दा पनि रविको संलग्नता भेटिएन, कागज र प्रमाण पुगेन भनिएको हो । तर, यसको अपव्याख्या गर्न थालिएको छ ।’
उनले गोर्खा मिडियाले खर्च गर्दा लामिछानेसहितले केही कैफियत गरेका भए सरकारले कारबाही गरोस् भनेर समितिले सिफारिस गरेको बताए ।
अब सरकारले सहकारी कानूनअनुसार नभई कम्पनी कानून अनुसार गोर्खा मिडियाले गरेको खर्चबारे अनुसन्धान गर्न सक्ने तर्क उनले गरे ।
‘समितिले गोर्खा मिडियामा पैसा आएको हो तर ल्याउन रवि लामिछानेको संलग्नता छैन भनेको छ । पैसा आएपछि गोर्खा मिडियाले खर्च गर्दा लामिछानेसहितले केही कैफियत गरेका भए सरकारले कारबाही गरोस् भनेर समितिले सिफारिस गरेको हो,’ उनले भने, ‘अब सरकारले सहकारी कानुन होइन, कम्पनी कानुनअनुसार गोर्खा मिडियाले गरेको खर्चबारे अनुसन्धान गर्न सक्छ ।’
समितिले कार्यादेश पाएका सहकारीबाट मात्रै ८७ अर्ब रुपैयाँ अपचलन भएको उनले बताए । अब रास्वपाको काम त्यो अपचलन गर्नेको खोजी र उनीहरुलाई कारबाहीको दबाब दिनु भएको उनले बताए ।
प्रतिक्रिया