नेपालमा दूतावास स्थापना गर्न क्यानडालाई आग्रह

नेपालमा दूतावास स्थापना गर्न क्यानडालाई आग्रह


काठमाण्डु-परराष्ट्रमन्त्री डा अरजु राणा देउवाले क्यानडा सरकारलाई नेपालमा आफ्नो दूतावास स्थापनाका लागि आग्रह गरेकी छिन् ।

क्यानाडाली विदेशमन्त्री मेलानी जोलीबीच हिजो क्यानाडाको ओटावामा द्विपक्षीय भेटवार्ताको क्रममा उनले सो आग्रह गरेकी हुन् ।

उनले एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूताबास स्थापना गर्नु क्यानाडाका लागि आवश्यक छ भनेर पनि सोचिदिन सो अवसरमा विदेशमन्त्री जोलीसमक्ष आग्रह पनि गरिन् ।

भेटवार्तामा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा दुबैजनाले दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको बताइन् । नेपाल र क्यानाडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन् ।

नेपालको संसदले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरु पनि पूर्ण हुने जानकारी मन्त्री डा. राणाले दिइन् ।

नेपाललाई विभिन्न क्षेत्रमा विभिन्न शीर्षकबाट विगत लामो समयदेखि क्यानाडाले पुर्याउँदै आएको आर्थिक सहायता तथा विकास साझेदारका रुपमा गर्दै आएको सहयोगको त्यस अवसरमा मन्त्री डा राणाले स्मरण गरिन् ।

अतिकम विकसित राष्ट्रका रुपमा सन् २००३ देखि नै क्यानाडाले नेपाली उत्पादनहरुलाई क्यानाडा प्रवेशका लागि ड्युटी फ्रि सुविधा उपलब्ध गराउँदै आएको छ । नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुने योजनामा रहेकाले त्यसपछि पनि नेपाललाई व्यापारिक र लगानीसम्बन्धी सुविधामा क्यानाडाको निरन्तर सहयोगको अपेक्षा गरेको मन्त्री डा. राणाले बताइन् ।

जलविद्युतका क्षेत्रमा क्यानाडाको विगत लामो समयदेखिको अनुभव र विज्ञता रही आएको उल्लेख गर्दै मन्त्री डा राणाले नेपालमा जलविद्युतका क्षेत्रमा लगानीको धेरै ठूलो सम्भावना रहेकाले लगानी गर्न क्यानाडालाई आग्रह गरिन् ।

आगामी डिसेम्बरमा काठमाडौँमा द्विपक्षीय वार्ता हुने र त्यस क्रममा दुई देशबीच पर्यटन र शिक्षासम्बन्धी समझदारीको आधार तय गरिने सो वार्तामा सहमति भएको थियो । साथै आगामी बर्ष मनाइने नेपाल क्यानाडा कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ बर्षगाँठका दौरानमा यी समझ्दारीमा हस्ताक्षर हुनेगरी काम गरिने सहमति पनि यो वार्तामा भएको छ ।

त्यसैगरी उनले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानाडा सरकार तयार रहेको बताइन् । उनले परराष्ट्रमन्त्री डा राणाले राखेको नेपालमा क्यानाडाली दूतावास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया पनि दिइन् ।