संसद्को अंकगणित हेरेर मात्र संविधान संशोधन हुँदैन : प्रधानमन्त्री

संसद्को अंकगणित हेरेर मात्र संविधान संशोधन हुँदैन : प्रधानमन्त्री


काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अंक गणितलाई मात्र हेरेर संविधान संशोधनको प्रक्रिया अघि नबढ्ने बताएका छन् ।

१०औं संविधान दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको अप्ठ्यारा परिस्थितिलाई चिर्न नै संविधान संसोधन गरिने र यसमा सबै दल र समुदायको सहभागिता सुनिश्चित गरिने बताए ।

‘जनतामा देखिएको चरम निराशालाई कम गर्न बाहेक यो सरकारको अरु ध्यान हुँदैन । संविधानलाई जीवन्त बनाउने बाहेक यो सरकारले अरु कुरा सोच्दैन । म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसदको गणितीय संख्यामा मात्र हेर्ने छैनौं । सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिने छ’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले अब वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ भएको बताए । ‘यो लडाइँ राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि हो,’ उनले भने ।

संविधानले सुनिश्चित गरेका कतिपय कुरा अनुदित नभएको भन्दै उनले संविधानलाई समयाानुकूल बनाउनुपर्नेमा जोड दिए ।