काठमाण्डु – सरकारले नियुक्ति सिफारिस गरेका १६ राजदूतहरूको संसदीय सुनुवाइ समितिले बहुमतले अनुमोदन गरेको छ । समितिको निर्णयमा जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले फरक मत लेखेका छन् ।
अर्यालले तीन राजदूतको सिफारिस अनुमोदनमा र अधिकारीले ४ राजदूतको सिफारिस अनुमोदनमा फरक मत लेखेका हुन् । अर्यालले दक्षिण अफ्रिकाका प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ, मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमल्सिना र इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको नाममा फरकमत राखेका छन् । अधिकारीले अधिकारीले यी तीनसहित भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माको नाममा पनि फरकमत राखेका छन् ।
यो सँगै सरकारबाट १७ जना प्रस्तावित राजदूतमध्ये १२ जना सर्वसम्मत र ४ जना बहुमतले अनुमोदन भए । श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको स्नातक तहको प्रमाणपत्र नभेटिएपछि अर्को बैठकमा मात्र निर्णय गर्ने गरी स्थगन भएको छ ।
दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, रुसमा जंगबहादुर चौहान, पोर्चुगलमा प्रकाशमणि पौडेल, पाकिस्तानमा रीता धिताल, जर्मनीमा डा। शैल रूपाखेती, डेनमार्कमा सुम्निमा तुलाधर, चीनमा प्रा। कृष्णप्रसाद ओली, साउदी अरबमा नरेशविक्रम ढकाल, कतारमा रमेशचन्द्र पौडेल, स्पेनमा सलिन नेपाल, बेलायतमा चन्द्रकुमार घिमिरे र अमेरिकामा लोकदर्शन रेग्मीलाई समितिले सर्वसम्मत अनुमोदनको निर्णय गरेको छ ।
प्रतिक्रिया