जोर्नीहरूको उपचार दूरबिन पद्धतिबाट कसरी गरिन्छ ?

जोर्नीहरूको उपचार दूरबिन पद्धतिबाट कसरी गरिन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्थाेस्कोपी सर्जरी भनेको दूरबिन पद्धतिबाट विभिन्न जोर्नीहरूको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्धति हो । सानो–सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई अर्थाेस्कोपी भनिन्छ ।

यो अंग्रेजीबाट आएको शब्द हो । अर्थो भनेको जोर्नी र स्कोपी भनेको क्यामेरा वा दूरबिनको साहाराले हेर्नु, त्यसैले क्यामेरा वा दूरबिनको सहाराले सानो प्वाल पारेर जोर्नीको रोगको निदान तथा उपचार गर्ने विधिलाई अर्थाेस्कोपी प्रविधि भनिन्छ ।

प्रायः यो घुँडा (नी), कुम (सोल्जर), गोलीगाँठो (एन्कल) को गरिन्छ । अर्थोस्कोपिक प्रविधिद्वारा मानव शरीरमा भएको जोर्नीहरू जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नीभित्रको रोगको निदान र उपचार गर्न सम्भव हुन्छ । नेपालमा भने घुँडाको र कुमको उपचारमा यो प्रविधिको प्रयोग हुने गरेको छ ।

खेलको क्रममा वा विभिन्न चोटपटक लाग्दा घुँडाको भित्रि भागको (लिगामेन्ट) नशा तथा तथा वासर (मेनिस्कस) हरू च्यातिएको खण्डमा यो पद्धतिबाट नयाँ नशा (लिगामेन्ट) बनाउने तथा च्यातिएको वासर (मेनिस्कस) लाई टाँका लगाएर उपचार गर्ने दूरबिन पद्धतिलाई अर्थाेस्कोपी सर्जरी भनिन्छ ।

घुँडाको अर्थाेस्कोपी सर्जरी गर्दा बिरामीलाई बेहोस बनाउनु पर्दैन । ढाडमा सूइँ दिएर (स्पाइनल एनेस्थेसिया) खुट्टा लठ्याएर सानो प्वाल बनाई यो सर्जरी गरिन्छ र कतिपय बिरामीले त सर्जरीको क्रममा भिडियो हेर्दै गरेका पनि हुन्छन् ।

च्यात्तिएको लिगामेन्ट (वा नशा) लाई सानो प्वाल पारेर दूरबिनको माध्यमबाट सर्जरी गर्ने उपचार विधि अर्थाेस्कोपी हो । धेरै बिरामीहरू खेलाडी, बाइकर, आर्मी प्रहरीका हुने गरेका छन् । विकसित देशबाट सुरु भएको यो सर्जरीले हाम्रो देशमा यो अवस्थासम्म आइपुग्न विभिन्न प्रकारका बाधा–अवरोध पार गरेको छ ।

यसका उपकरणहरू तुलनात्मक रूपमा महंगो हुने तथा चिकित्सकले पनि यो सर्जरी सिक्नका लागि थप तालिम लिनुपर्ने भएकाले केही समय ढिला मात्र यो सर्जरीले विकसित रूप लिएको हो । ठूलो चिरफार नगरी सानो प्वाल बनाएर सर्जरी गर्ने हुनाले सर्जरीपश्चात दुखाइ पनि कम हुने, घाउ पनि चाँडो निको हुने र बिरामी पनि चाँडै स्वस्थ भएर फर्किने गरेका छन् ।

सर्जरीपश्चात फिजियोथेरापी तथा व्यायामको ठूलो भूमिका रहन्छ । ग्राण्डीमा पछिल्लो समय सर्जरी गर्ने बिरामीको संख्या बढेको छ । पटक–पटक कुम खुस्किने तथा कुमका अनेक समस्या भएका बिरामीहरू पनि यो सर्जरीबाट लाभान्वित भएका छन् ।

अर्थाेस्कोपी सर्जरी गरेका बिरामीहरू ९ महिनादेखि १ वर्षमा प्रोफेसनल स्पोर्टमा फर्केका उदाहरणहरू धेरै मात्रामा छन् । नेपालमा यो सर्जरी १ दशक अगाडि नै भित्रिए पनि विगत केही वर्षदेखि यसले तीव्र रूप लिएको छ । घुँडाको लिगामेन्ट च्यातिएका कतिपय बिरामीले वास्ता नगरी बस्दा भविष्यमा घुँडा चाँडै नै बिग्रिने, घुँडा खिइने तथा पछि दुखाइ लिएर बस्नुपर्ने हुन्छ । यस्ता बिरामीले समयमै उपचार गर्दा घुँडा बिग्रिने प्रक्रियाबाट जोगाउन सकिन्छ ।

तुलनात्मक रूपमा विदेशभन्दा यो सर्जरी नेपालमा धेरै नै सस्तो हुने गरेको छ । ग्राण्डीमा घुँडा तथा कुमको सबै प्रकारको अर्थाेस्कोपी सर्जरी गरिन्छ ।

(डा. मिश्र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ अर्थाेस्कोपी तथा अर्थोप्लाष्टिक सर्जन हुन् ।)