सिरहाका स्थानीय तहविरुद्ध २ महिनामा २७० भ्रष्टाचारका उजुरी

सिरहाका स्थानीय तहविरुद्ध २ महिनामा २७० भ्रष्टाचारका उजुरी


सिरहा – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले चालू आर्थिक वर्षको पहिलो २ महिनामा सिरहाका स्थानीय तहविरुद्ध २७० उजुरी परेको जनाएको छ ।

बिहीबार सुखीपुर नगरपालिकाको सभाहलमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुुशासन प्रवर्द्धन’ विषयक स्थानीय तह स्तरीय अन्तर्क्रिया अख्तियारका सहायक प्रवक्ता तथा सूचना अधिकारी देवीप्रसाद थपलियाले तथ्यांक प्रस्तुत गरे ।

प्रवक्ता थपलियाका अनुसार उजुरी परेकामध्ये २६ वटा मुद्दा फछ्र्यौट भइसकेको र बाँकी २४४ प्रक्रियामा छन् । जिल्लाको १७ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरीे औरही गाउँपालिकाका ४६ वटा रहेका छन् । जसमध्ये ४ वटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने ४२ वटा बाँकी छन् ।

लहान नगरपालिका विरुद्धको १६ उजुरीमध्ये एक फछ्र्यौट भएको, सिरहा नगरपालिका विरुद्धका २७ उजुरीमध्ये ५ वटा फछ्र्यौट भएको, गोलबजार नगरपालिका विरुद्धका २३ वटा उजुरीमध्ये एउटा फछ्र्यौट भएको, मिर्चैया नगरपालिका विरुद्धको १३ वटा उजुरीमध्ये एउटा फछ्र्यौट भएको, भगवानपुर गाउँपालिका विरुद्धकोे १२ वटा उजुरीमध्ये एउटा फछ्र्यौट भएको छ ।

विष्णपुर गाउँपालिका विरुद्धको १८ मध्ये २ वटा फछ्र्यौट भएको, नरहा गाउँपालिका विरुद्धको ७ वटा उजुरीमध्ये एउटा फछ्र्यौट भएको, सखुवानन्कारकट्टी गाउँपालिका विरुद्धको ५ वटा उजुरीमध्ये एउटा फछ्र्यौट भएको छ ।

धनगढीमाई नगरपालिकाविरुद्ध १२ वटा, सुखीपुर नगरपालिकाविरुद्ध १५ वटा, बरियारपट्टी गाउँपालिका विरुद्धकोे ५ वटा, लक्ष्मीपुर पतारी गाउँपालिका विरुद्धकोे ३ वटा, अर्नमा गाउँपालिकाविरुद्ध ११ वटा र नवराजपुर गाउँपालिकाविरुद्ध ५ वटा उजुरी परेको थियो ।

कार्यक्रममा सुखीपुर नगपालिकाका नगर प्रमुख रामअवतार यादवले दुश्मनी साँध्न र काम हुन नदिने मनसायका साथ उजुरी हाल्ने गरिएको दाबी गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासले मधेश प्रदेशअन्र्तगत सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुंगा, खोटाङ र सोलुखुम्बु तथा बागमती प्रदेशको सिन्धुली र रामेछाप गरी ९ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।