आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक

आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक


कटारी – उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा र छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार १ जनालाई सार्वजनिक गरेको छ ।

वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुस थापाको हत्या गरेको अभियोगमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापामगरलाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंको टोली सोरुङ्गछविसेमै रहेर अनुसन्धान गरेको थियो । ‘अनुसन्धानपछि बिहीबार मात्रै उहाँहरू फर्किनुभएको हो,’ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले भने ।

उपरीक्षक योगीका अनुसार घटना भएको राति अभियुक्त मगर महिला सुतेको स्थानमा पुगेका थिए । त्यसपछि उनीहरूबीच विवाद भएको र रिसमा अभियुक्तले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।

अभियुक्तले घरबाट नै खुकुरी बोकेर गएको प्रहरीले जनाएको छ । आपसी विवाद भएपछि पटकपटक खुकुरी प्रहार गरेको र सोही क्रममा सँगै सुतिरहेका छोरा आरुस उठेर कराउन थालेपछि छोरालाई पनि खुकुरी प्रहार गरी हत्या गरेका अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

‘प्रारम्भिक अनुसन्धान मात्रै हो, आज हामीले ७ दिनको म्याद थपेर थप अनुसन्धान थालेका छौं,’ उपरीक्षक योगीले भने, ‘घटनापश्चात अभियुक्तले प्रयोग गरेको खुकुरी, मृतक महिलाको मोबाइल, अभियुक्तले घटनापश्चात नजिकैको खोलामा धोएर सुकाएको हाफपाइन्ट बरामद गरिएको छ ।’

प्रहरीका अनुसार अभियुक्त भोलिपल्ट बिहान घटनास्थलमा पनि आएका थिए । कटारी अस्पत्तालमा शव परीक्षणका समयमा स्थानीयसँग आएको र दाहसंस्कारमा उपस्थित भएकाले तत्काल शंका गर्नुभन्दा आवश्यक प्रमाण पुराउन समय लागेको अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए ।

मृतक महिलाका श्रीमान् अशोक थापा ३ वर्षअघि नै कान्छी श्रीमती लिएर भारततिर गएका थिए । अभियुक्त मगरका श्रीमती, १ छोरा र छोरी छन् ।