महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छ : परराष्ट्रमन्त्री डा. राणा

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छ : परराष्ट्रमन्त्री डा. राणा


काठमाण्डु-परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिलालाई नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छन् ।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठकलाई हिजो सम्बोधन गर्दै मन्त्री राणाले भनिन्, ‘महिला समानता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान छन् र यससम्बन्धी मान्यताहरू पनि विकास भएका छन् । तर पनि महिलालाई नेतृत्वमा पुग्न भने अझै धेरै चुनौती छन् ।’

लैङ्गिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकहरूले झन् धेरै समस्या झेल्नु परिरहेको मन्त्री डा. राणाले बताइन् ।

‘संसारमा महिला वर्गको राजनीतिक, सामाजिक, आर्थिक र कानुनी अवस्थाको विश्लेषण गर्दा हाल संसारमा ११ प्रतिशतभन्दा कम राष्ट्र प्रमुख र १० प्रतिशतभन्दा कम सरकार प्रमुखहरू महिला छन् । महिलाहरू रोजगारीको ६० प्रतिशत अनौपचारिक अर्थतन्त्रमा केन्द्रित छन् र औसतमा पुरुषभन्दा तीन गुणा बढी समय अवैतनिक सेवा र घरेलु काममा महिला रहेका छन्’, परराष्ट्रमन्त्री डा. राणाले बताइन् ।

कानुनी अधिकारको उपभोग एवं न्यायमा पहुँचका आधारमा पनि महिला संसारमै पछि परिरहेका उनको भनाइ छ ।

महिलाहरूले विश्वव्यापी रूपमा पुरुषले पाएका कानूनी अधिकारहरूको ६४ प्रतिशत मात्र अधिकार उपभोग गर्न सकेको अवस्था रहेको बैठकमा उनले जानकारी दिइन् ।

नेपालमा पनि आफूहरूले निरन्तर रूपमा लैङ्गिक समानताका लागि लडिरहेको उदाहरण दिदै उनले जसका कारण नेपालका लक्षित नीति र कार्यले केही सुधार भने ल्याइरहेको बताइन् ।

उनले भनिन्, ‘हामीले महिला समानताका लागि लडेको धेरै भयो । अहिले भने हाम्रो संविधानले सङ्घीय र प्रादेशिक संसदमा ३३ प्रतिशत र स्थानीय सरकारमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । संविधान जारी भएको एक दशकमा नेपालमा हामीले महिला राष्ट्रप्रमुख, सभामुख र प्रधानन्यायाधीश पाएका छौँ । यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्दछ ।’

नेपालमा पूर्ण लैङ्गिक समानता अहिलेसम्म हासिल हुन नसकेको भए पनि महिला सहभागिता बढ्दै जानु सकारात्मक रहेको पनि उनले बताइन् ।

बैठकमा विश्वका १६ देशका महिला विदेशमन्त्री सहभागी छन् । बैठकमा महिला समानता र सहभाागिता, महिला नेतृत्वको विकास, नेतृत्वमा पुग्न महिलाका चुनौती, गलत सूचना र यसले महिलालाई पारिरहेको प्रभाव आदि विषयमा छलफल भएको छ ।