फिदा हुसेन हत्याको विरोधमा सडकमै शव राखेर प्रदर्शन

फिदा हुसेन हत्याको विरोधमा सडकमै शव राखेर प्रदर्शन


सुनसरी – सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्या गरिएको विरोधमा बिहिबार सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ । बुधवार बिहान साढे ६ बजे दुहबी नगरपालिका ९ रनिगाउँ नजिकै नहरको डिलमा ५४ वर्षका हुसेनको गोली हानी हत्या भएको थियो ।

हत्यामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयबासी बिहीबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन् । प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आरोप लगाउँदै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको हो । सुनसरी दुहबी, सदरमुकाम इनरुवा, जमुवा नहर, भोक्राहासहितको स्थानमा बिहानैदेखि स्थानीय राजमार्गमा टायर बालेर राजमार्ग अवरोध गरेका छन् ।

हत्या गरिएका हुसेनलाई शहीद घोषणा गर्नुपर्ने, हत्यारा पक्राउ गरी कडा कारवाही गर्नुपर्ने, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्नेलगायतका पाँच सूत्रीय माग राख्दै सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन गरिएको स्थानीयवासी हजरत हुसेनले बताए ।

सदरमुकाम इनरुवा, जमुवा नहर, भोक्राहामा गरिएको बन्द अहिले खुलेको छ भने कोशी राजमार्गअन्तर्गत विराटनगर र धरान सडकखण्डमा प्रदर्शन जारी रहेको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीले फिदाको शवलाई दुहबी बजारमा राखेर प्रदर्शन गरिरहेको स्थानीय नइम अन्सारीले बताए । दुहबीमा विरोध प्रदर्शनका कारण यातायातका साधन अवरुद्ध हुँदा यात्रुलाई आवतजावत गर्न समस्या भएको छ । उक्त सडकखण्डमा अति आवश्यक सवारी साधनबाहेक कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।

बुधबार बिहानै सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेन मोर्निङवाकमा निस्केका बेला अज्ञात व्यक्तिको समूहले गोली हानेर उहाँको हत्या गरिएको थियो । हत्याको विरोधमा बुधबार स्थानीयवासीले सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई आफ्ना ५ सुत्रीय मांग राख्दै ज्ञापनपत्र समेत बुझाएका थिए ।