सहकारी ठगी प्रकरणका दोषीलाई कारबाहीका लागि सहयोग गर्न आह्वान

सहकारी ठगी प्रकरणका दोषीलाई कारबाहीका लागि सहयोग गर्न आह्वान


काठमाण्डु – विभिन्न राजनीतिक दलका नेताहरूले सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाण्डुमा शनिबार आयोजित साक्षात्कारमा नेताहरूले सहकारी प्रकरणमा संलग्न जो कोहीलाई कानूनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिए ।

संसदीय विशेष छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेअनुसारका व्यक्तिलाई जोगाउनेभन्दा पनि कारबाहीका लागि सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ ।

नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति, पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही सिफारिस गरिएकाले सोहीअनुसार कार्यान्वयन हुनुपर्ने बताए ।

संसदीय समितिको प्रतिवेदनले धेरै कुरा प्रष्ट पारिसकेकाले अब सभापति लामिछाने र उनी पक्षधरले गलत कुराको वकालत गर्न जरुरी नरहेको प्रधानको भनाइ छ । ‘लामिछानेका बारेमा प्रतिवेदनले स्पष्ट रूपमा कारबाही सिफारिस गरेको छ । अब पनि गलत कार्यको प्रतिरक्षा गर्नु राम्रो होइन । हाम्रो पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गर्नुपर्ने समितिको सिफारिस छ, त्यसैले उहाँले अनुसन्धानमा सहयोगका लागि तत्काल पार्टी र संसद्को जिम्मेवारीबाट अलग रहनुपर्छ,’ उनले भने ।

साक्षात्कारमा नेकपा एमाले नेता तथा पूर्व मन्त्री शेरबहादुर तामाङले प्रतिवेदनले प्रष्ट पारिसक्दा पनि कतिपयले सत्यलाई छोप्ने प्रयास गरेको भन्दै आलोचना गरे । उनले भने, ‘सहकारी छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरिसकेको छ, कतिपयले त्यसमा नभएका कुरालाई पनि अतिरञ्जित गर्न थालेका छन् । यसमा सचेत हुनुपर्नेछ ।’

नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेको संलग्नताबारे अझै पुष्टि नभइसकेको दाबी गरेका छन् ।