दोस्रो र तेस्रो ठूलो दलले सरकार बनाउन नपाउने गरी संविधान संशोधन हुनुपर्छ : महामन्त्री शर्मा

दोस्रो र तेस्रो ठूलो दलले सरकार बनाउन नपाउने गरी संविधान संशोधन हुनुपर्छ : महामन्त्री शर्मा


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि दोस्रो र तेस्रो ठूला दलले सरकार गठन गर्न नपाउने प्रावधान राखेर संविधान संशोधन हुन आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस झापा–काठमाण्डु सम्पर्क समितिद्वारा बडादशैं, दीपावली, नेपाल संवत, छठ पर्व लगायत उपलक्ष्यमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उनले बहुमत नभएको अवस्थामा जसले लोकप्रिय मत बढी ल्याउँछ, उसैले सरकार गठन गर्ने व्यवस्था हुनुपर्ने धारणा राखे ।

महामन्त्री शर्माले भने, ‘राजनीतिलाई स्थायित्व प्रदान गर्न स्थिर प्रधानमन्त्रीको खोजी जरुरी छ, आफूले २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न हुन्न भन्दै आए पनि त्यसमा स्वीकार हुन सकेको छैन । स्थिर प्रधानमन्त्री रहने गरी संविधान संशोधन गर्न आवश्यक छ ।’

पार्टी कार्यकर्तामा आएको निराशा चिर्न आवश्यक रहेको बताउँदै उनले नेपालमा केही भएको छैन भन्ने नभई, केही भएको छ, केही अझै गर्न बाँकी भनेर बुझाउन जरुरी रहेको धारणा व्यक्त गरे ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलका बीचमा एकअर्कालाई दोषारोपण गर्नेभन्दा सहयोगी भावना गर्नेतिर ल्याउन आवश्यक रहेको बताए । उनले भने, ‘इतिहासमा देखिने गरी नै नीतिगत नेतृत्व नेपाली कांग्रेसले गर्दै आएकाले भविष्यमा पनि त्यो सम्भव छ । माक्र्सवाद र लेनिनवादको विचारले नेपालको हितमा काम गर्न सक्दैन । अहिले राजनीतिमा षड्यन्त्रका तानावाना बुनिन थालेको छ ।’

हामी आफैं आफ्नो माटोमा उभिएर सार्वभौम राष्ट्रलाई आफैंले नेतृत्व गर्न सक्छौं भन्ने साहस देखाउन आवश्यक रहेको उनको भनाइ छ । कांग्रेस झापा सभापति देउमान थेवेले पार्टीका गतिविधिअघि बढाउन क्रियाशील सदस्य नवीकरणमा सहयोग गर्न आग्रह गरे ।

वरिष्ठ साहित्यकार कृष्ण धरावासीले पार्टी संगठन सुदृढीकरण गर्न र वैचारिक रूपमा अघि बढाउन संस्थापक नेताहरूका विचारलाई अगाल्न आवश्यक रहेको बताए । कार्यक्रम सम्पर्क समिति अध्यक्ष नवीन जोशीको अध्यक्षतामा भएको थियो ।