काभा क्लब च्याम्पियनसिपमा पुलिस क्लबको वर्चस्व, उषा भइन् सर्वोत्कृष्ट, सुमित्रा र शान्तिकला उत्कृष्ट

काभा क्लब च्याम्पियनसिपमा पुलिस क्लबको वर्चस्व, उषा भइन् सर्वोत्कृष्ट, सुमित्रा र शान्तिकला उत्कृष्ट


काठमाण्डु-नेपाल पुलिस क्लबले माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।

पुलिस क्लबले उपाधि जित्दा विधागततर्फ पनि वर्चस्व कायम राखेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसकी उषा भण्डारी बनेकी छन् । उत्कृष्ट आउट साइड हिटर उषा, उत्कृष्ट मिडल ब्लकर सुमित्रा रेग्मी र उत्कृष्ट लिब्रो पुलिसकै शान्ति कला तामाङ चुनिए ।

माल्दिभ्सको मालेमा गएराति भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

पुलिसले हुमोलाई २५–१६, २५–२२ र २५–२३ ले पराजित गर्दै उपाधि जितेको हो । यसअघि पुलिसले समूह चरणमा लगातार पाँच खेल जितेको थियो ।

पुलिस क्लबले नेपालको च्याम्पियन क्लबको हैसियतमा प्रतियोगितामा भाग लिएको हो । प्रतियोगितामा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, श्रीलङ्का, ताजकिस्तान र कीर्गिस्तानका क्लबको सहभागिता थियो ।