नेतृ सुजाताको आरोप – वर्तमान सरकार पूर्ण रुपमा असफल

नेतृ सुजाताको आरोप – वर्तमान सरकार पूर्ण रुपमा असफल


काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेकी छिन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेतृ कोइरालाले भनिन्,‘मलाई त आश्चर्य लागेको छ, यत्रो दुई तिहाई बहुमतको सरकार छ, विकास होला भन्ने लागेको थियो । तर, सरकार यो ९ महिनामा पूर्ण रुपमा फेलियर भयो । मुलुकमा स्थिरताको साटो अस्थिरता देखियो । विकास निर्माणका कामले गति लिन सकेनन् । कर बढाएर जनतालाई भार थप्ने काम गर्यो । जनतालाई अप्ठ्यारो अवस्थामा पुर्याईएको छ ।’

उनले वर्तमान सरकारले जनताको हितमा एउटा पनि काम गर्न नसकेको गम्भिर आरोप लगाईन् । उनले भनिन, ‘म आँफै आश्चर्यमा परेकी छु, कि प्रजातन्त्रमा यत्रो दुई तिहाई बहुमत भनेको त एकदमै महत्वपूर्ण कुरा हो । दुई तिहाई बहुमतको सरकार पनि सफल भएन भने यो एकदम खतरनाक हुन सक्छ ।  उहाँहरुले किन सरकार चलाउन नसकेको हो ? अहिले देश यत्रो भ्रष्टाचारले भरिएको छ ।

यति भ्रष्टाचार, यति भ्रष्टाचार कि त्यसको कुनै सिमा नै छैन् । साँच्ची भनेको मैले त कल्पना पनि गरेको थिईंन कि नेपालमा यत्रो भ्रष्टाचार, यति फाष्ट भ्रष्टाचार महामारी फैलिएजस्तो फैलिएको छ । भ्रष्टाचार अहिले ग्रास रुटसम्म पुगिसक्यो । यो चाहीँ देशको लागि खतरनाक हो ।’

आफूहरुले यसलाई गम्भिर भएर समाधान गर्न नसके मुलक गम्भिर समस्यामा जाने उनको चिन्ता छ । उनले भनिन्, ‘यो सब कारण नेपाली कांग्रेस कमजोर भएर नै हो । त्यसैले अब हामी गम्भिर हुनुपर्यो । हामी नेपाली कांग्रेस अब अगाडि बढ्छौं । अब यो देशको रक्षा गर्छौं । यो देशमा सुरक्षा दिन्छौं । र, हामी यो देशको विकास पनि गर्छौं भनेर हामीले प्रतिबद्धता जनाएका छौं । अब प्रतिबद्धताहरु पूरा गरेर पनि देखाउँछौं ।’