क्यानडासँग नेपाल फेरि पराजित, अर्धशतक बनाउन १ रनले चुके सन्दीप

क्यानडासँग नेपाल फेरि पराजित, अर्धशतक बनाउन १ रनले चुके सन्दीप


काठमाण्डु-आइसिसी एक दिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत भएको खेलमा क्यानडासँग नेपाल फेरि पराजित भएको छ ।

क्यानाडासँग खेलेको दोस्रो खेलमा नेपाल ५ विकेटले पराजित भएको हो ।

क्यानडाको किङ सिटीमा टस जितेर सुरुमा ब्याटिङ रोजेको नेपालले क्यानडालाई जितका लागि १८२ रनको लक्ष्य दिएको थियो ।

सुरुमा ब्याटिङ गरेको नेपालले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो । सन्दिप लामिछानेले ४८ बलमा पाँच चौका र एक छक्काको मद्दतमा सर्वाधिक ४९ रन बनाए । सन्दीपको एकदिवसीय करियरको यो उत्कृष्ट ब्याटिङ हो ।

यसअघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए । उनी अर्धशतक बनाउन मात्र एक रनले चुकेका हुन् ।

त्यसैगरी गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए । करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे । यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भिम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए ।

बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हरर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई–दुई विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको क्यानडाका लागि दुई ब्याट्सम्यानले शानदार अर्धशतक बनाए । नवनीत धालिवालले ११३ बलको सामना गर्दै ८७ रन बनाउँदा र परगट सिंहले ८३ बलको सामना गर्दै ६४ रन जोडे। क्यानडाले नेपालले दिएको लक्ष्य पाँच विकेटको क्षतिमा ४२ ओभरमै पूरा गरेको हो ।

लामिछानेले दुई विकेट लिँदा गुल्सन झा, ललित राजवंशी र करण केसीले समान एकएक विकेट लिए।

क्यानडा भ्रमणमा रहेको नेपालको यो लगातार तेस्रो हार हो । पहिलो खेलमा क्यानडासँगै १०३ रनले हारेको नेपाल दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो ।