ओलीसँग भेटेपछि के भने मोदीले

ओलीसँग भेटेपछि के भने मोदीले

दिए छिट्टै नेपाल आउने वचन


काठमाण्डु-संयुक्त राष्ट्रसंघको ७९औँ महासभाको साइडलाइनका क्रममा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत नेपाल–भारत मित्रता धेरै बलियो रहेको उल्लेख गरेका छन् ।

नेपालका प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भएको पनि उनले एक्समार्फत जनाएका छन् ।

यो सम्बन्धलाई अझै गति दिन चाहेको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीले आफूहरूबीचको वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित भएको पनि जनाएका छन् ।

‘प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भयो । भारत–नेपाल मित्रता धेरै बलियो छ । हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ । हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो’, मोदीले एक्समा भनेका छन् ।

भेटका क्रममा मोदीले आफू छिट्टै नेपाल आउने पनि प्रधानमन्त्री ओलीलाई वचन दिएका छन् ।

दुई देशका प्रधानमन्त्रीहरूबिच दुवै देशका विदेशमन्त्री र अन्य अधिकारीसहित न्युयोर्क प्यालेस होटलमा भेटवार्ता भएको हो ।

भेटमा सहभागी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिइन् ।