श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा दिसानायकेले लिए शपथ

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा दिसानायकेले लिए शपथ


काठमाण्डु– श्रीलंकाको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिएका छन् । नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहेका ५५ बर्षिय दिसानायाकले सोमबार पद तथा गोपनियताको शपथ लिएको श्रीलंकाको मिडिया डेली मिररले उल्लेख गरेको छ ।

दिसानायाके श्रीलंकाको नवौं कार्यकारी राष्ट्रपति बनेका हुन् ।

शनिबार सम्पन्न मतदानपछि पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् ।पहिलो राउण्डमा अनुरा दिसानायकेले ४२.३१ प्रतिशत र उनका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरे ।

श्रीलंकाको इतिहासमा कुनै पनि उम्मेदवारले चुनाव जित्न आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत नपाएको यो पहिलो पटक हो, जसका कारण दोस्रो चरणको मतगणना गरिएको हो । विपक्षी नेता सजित प्रेमदासा दोस्रो र निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे तेस्रो भएका थिए ।

दिसानायकेले आफूलाई मजदुरको आवाज उठाउने नेताको रूपमा व्याख्या गर्छन् । चुनावी अभियानमा उनले भ्रष्टाचार अन्त्यका लागि कदम चाल्ने कुरा गरेका थिए ।

तथ्यांकअनुसार मुलुकमा करिब ७० प्रतिशत मतदान भएको थियो । श्रीलंकाको राष्ट्रपतीय निर्वाचनमा कीर्तिमानी ३८ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि सामेल थिए ।