कोभिड–१९, द्वन्द्व र जलवायु परिवर्तनले दिगो विकासमा असर : प्रधानमन्त्री ओली

कोभिड–१९, द्वन्द्व र जलवायु परिवर्तनले दिगो विकासमा असर : प्रधानमन्त्री ओली


काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी वित्तीय प्रणालीले गरिबी, जलवायु परिवर्तन र असमानता जस्ता समकालीन मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभा अन्तर्गत अमेरिकाको न्युवर्कमा आयोजित समिट अफ द फ्युचरको अन्तरक्रियात्मक सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड–१९, बढ्दो द्वन्द्व र जलवायु परिवर्तनले दिगो विकासका लागि प्रगतिमा गम्भीर असर पारेको बताएका हुन् ।

‘दशकौँअघि डिजाइन गरिएको विश्वव्यापी वित्तीय प्रणालीले गरिबी, जलवायु परिवर्तन र असमानता जस्ता समकालीन मुद्दाहरूलाई सम्बोधन गर्न सकेको छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय समर्थन उपायहरू या त स्थिर छन् वा घट्दै गइरहेका छन्, डिजिटल विभाजन बढ्दै गइरहेको छ र देशहरूले आफ्नो अर्थतन्त्रको रूपान्तरणका लागि डिजिटल प्रविधिको लाभ उठाउन कठिन कार्यको सामना गरिरहेका छन् ।’

यस पृष्ठभूमिमा विश्वको दृष्टिकोण, प्राथमिकता र कार्यमा के कस्ता कमजोरी भए भनेर आत्म समीक्षा गर्ने बेला भएको ओलीले बताए । ‘विकास आकांक्षा र बहुपक्षीय सहयोगलाई गहिरो बनाउने प्रयासहरूमा इच्छित परिणाम प्राप्त गर्न हाम्रो असफलताको कारणहरू आत्म समीक्षा गर्दा हामी व्यावहारिक हुन आवश्यक छ’, ओलीले भने ।

अन्तरक्रियात्मक संवाद सत्रको सह–अध्यक्षता गरेका ओलीले अहिले विश्व इतिहासको एउटा महत्वपूर्ण मोडमा पुगेको उल्लेख गरे ।

२०१५ मा नै प्राप्त गर्नुपर्ने एसडीजी गोलको जम्मा १७ प्रतिशत लक्ष मात्र हालसम्म ती मुलुकहरूले प्राप्त गर्नु निक्कै निराशाजनक अवस्था भएको ओलीले बताए ।

नेपालजस्ता अल्पविकसित देशसहित विकासोन्मुख देशहरूको अद्वितीय परिस्थितिअनुसार व्यापक ऋण राहत पहलहरू जरुरी रहेको उनको भनाई छ। अत्यधिक ऋणग्रस्त देशहरूका लागि तत्काल ऋण राहत र दीर्घकालीन ऋण पुनर्गठन तथा ऋण समाधानका लागि निष्पक्ष र पारदर्शी संयन्त्र स्थापना गर्न आवश्यक रहेको ओलीको भनाई छ ।