रवि लामिछाने उच्च निगरानीमा

रवि लामिछाने उच्च निगरानीमा

तत्काल पक्राउ गर्ने योजना ‘होल्ड’


काठमाण्डु-सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सुरु गरेको छ । प्रतिवेदनमा दोषी देखिएकालाई नेपाल प्रहरीले पक्रन सुरु गरेको हो ।

सहकारीको बचत रकम हिनामिना प्रकरणमा जीवी राई र रवि लामिछानेका साझेदार पूर्वप्रहरी नायब महानिरीक्षक डिआइजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनी भाग्ने सूचना प्रहरीले थाहा पाए पछि पक्राउ गरिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा गत माघमा नै जोशी र लामिछानेसहितविरुद्ध पूरक जाहेरी परेको थियो । जीबी राई, कुमार रम्तेललगायत विरुद्ध भने यसअघि नै मुद्दा दर्ता भइसकेको छ ।

कास्की प्रहरीले पठाएको पत्रको आधारमा सहकारीको बचत रकम अपचलन प्रकरणमा राई र लामिछानेका साझेदार जोशीलाई आइतबार शंखमुलबाट पक्राउ गरिएको थियो । जोशी गोरखा मिडियामा जीवी, लामिछानेका बिजनेस पार्टनर हुन् ।

छानबिन समितिले पूर्वडिआइजी जोशी, पूर्वगृहमन्त्री लामिछानेसहित विभिन्न व्यक्तिहरूलाई कारबाही गर्न सिफारिस गरेको छ । गोरखा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ अपचलन भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएकै दिन जरुरी पक्राउ पुर्जी थमाएर जोशीलाई समातिएको हो ।

समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयमा पठाएको अवस्थामा गृहमन्त्री लेखकले प्रहरीलाई तत्काल कार्यान्वयनका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

यस सँगै अब प्रहरीले संसदीय छानबिन समितिबाट कारबाहीका लागि सिफारिस भएका र सहकारीको बचत हिनामिनामा दोषी देखिएकाहरूमाथि छानबिन अघि बढाउने भएको छ । कारबाही सिफारिसमा परेका व्यक्तिहरूमाथि प्रहरीले निगरानी बढाएको छ । यसमा लामिछाने पनि छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई पनि पक्राउ गर्न प्रहरी खटिसकेको छ ।

तर, प्रहरीले उनलाई तत्काल पक्राउ नगर्ने भएको छ । बाहिर आइरहेका कुरा हल्ला मात्रै भएको प्रहरीको भनाइ छ । तर उनलाई चाँडै पक्राउ गर्ने तयारी प्रहरीको छ । उनी अहिले प्रहरीको उच्च निगरानीमा छन् । जिल्ला अदालत पोखराबाट पक्राउ पूर्जी लिएर पक्राउ गरिने प्रहरीको भनाइ छ ।

कुनै पनि आरोपी फरार हुन सक्ने खतरा देखेमा प्रहरीले अदालतबाट अनुमति नलिइकन जरुरी पक्राउ पूर्जी लिएर नियन्त्रणमा लिन सक्छ । तर लामिछानेलाई भने अदालतबाट अनुमति लिएर नै पक्राउ गरिने प्रहरीको तयारी छ ।

पूर्वडिआइजी जोशीलाई पक्राउ गर्न कास्कीबाटै प्रहरी टोली आएको थियो । उक्त टोलीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले सहजीकरण गरेको हो ।

‘लामिछाने पूर्वगृहमन्त्री मात्रै होइनन्, बहालवाला सांसद पनि हुन् । भाग्ने सम्भावना छैन । उनलाई पक्राउ गर्न हतारिनुपर्ने अवस्था छैन । यही परिस्थितिमा अदालतको पक्राउ पूर्जी नआई उनी पक्राउ पर्दैनन्’ प्रहरीको भनाइ छ ।

लमिछानेलाई पनि आइतबार नै पक्राउ गर्ने तयारी थियो । तर उनलाई पक्राउ गर्ने कार्य तत्काललाई ‘होल्ड’ गरिएको छ । उनलाई पक्राउ गर्र्न योजना तत्काल ‘होल्ड’ भए पनि उनीमाथि प्रहरीले उच्च निगरानी राखेको छ ।

रविले आफू छानबिनमा सघाउने बताएपछि उनलाई जबरजस्ती पक्राउ नगर्ने मुडमा सरकार पुगेको हो । तर उनलाई निगरानी गरिरहन गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।