बूढानीलकण्ठमा झण्डै २ अर्बको रिसोर्ट खोल्दै ‘रोयल ट्युलिप’

बूढानीलकण्ठमा झण्डै २ अर्बको रिसोर्ट खोल्दै ‘रोयल ट्युलिप’


काठमाण्डु– विलासी ब्रान्ड ल्युभा होटल्स ग्रुपले काठमाडौंको बूढानीलकण्ठमा पहिलो रिसोर्ट स्थापना गर्ने भएको छ।

क्लासिक भ्यु रिसोर्टको विकास र दक्षिण एसियाकै चर्चित सरोवर होटल्सको व्यवस्थापनमा खुल्ने रिसोर्टले विश्व विलासी यात्रा बजारमा नेपालको उपस्थिति दर्शाउनेछ। यो परियोजनालाई मुकुन्द राज कुँवर र ग्लोबल इक्विटी फन्ड लिमिटेडका सहसंस्थापक तथा निर्देशक आशिष ढकालले हेरिरहेका छन्।

योसँगै रोयल ट्युलिप ब्रान्ड नेपाल प्रवेश गर्नेछ। बूढानीलकण्ठमा रहने रिसोर्ट त्रिभुवन विमानस्थलबाट ३० मिनेटको ड्राइभमै पुग्न सकिन्छ।

२६ रोपनी जग्गामा फैलिने रिसोर्टमा ७५ वटा आकर्षक कोठाहरु हुनेछन् भने नेपाली प्राकृतिक सौन्दर्यको भरपुर आनन्द लिन सकिनेछ। ५०० सिटको ब्यान्क्वेट हल, विश्वस्तरीय स्पा, स्टिम रुम, प्राइभेट ज्याकुजीलगायतको सुविधा रहनेछ। हिमालयशृंखलाको मनोरम दृश्य अन्तर्राष्ट्रिय पर्यटकका लागि विशेष आकर्षण रहनेछ।

सरोवर होटलका प्रबन्धनिर्देशक अजय बकायाले यो ब्रान्डको प्रवेशले उत्साहित भएको बताए। भारत, अफ्रिका, अस्ट्रेलिया, फ्रान्स र बेलायतजस्ता देशमा ४५ वर्ष लामो होटल अनुभवसँगै बकाया सरोवर होटलको व्यवसाय उन्नयनमा महत्त्वपूर्ण व्यक्ति रहँदै आएका छन्।

बकायाले रोयल ट्युलिपले विलासितासँगै अविस्मरणीय अनुभूति अतिथिलाई दिने बताए। रिसोर्टमा १ अर्ब ८० करोड लगानी रहनेछ। रिसोर्ट खोल्ने सम्झौता भोलि नयाँ दिल्लीमा हुने बताइएको छ।

मुकुन्द राज कुँवरले रोयल ट्युलिपलाई नेपाल ल्याउन पाउँदा खुसी लागेको बताए। उनले होटलको उपस्थितिसँगै विलासिताको नयाँ मानक यस क्षेत्रमा भित्रिने पनि दाबी गरे।

रोयल ट्युलिप बूढानीलकण्ठ रिसोर्टले नेपालको पर्यटन क्षेत्रको उन्नयनमा उल्लेखनीय योगदान गर्ने आशा गरिएको छ। विदा मनाउन आउने र व्यावसायिक यात्रामा रमाउने दुवैखाले पर्यटकलाई रिसोर्टले विश्वस्तरीय सेवा दिनेछ।