मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेका ४ जनालाई ८ वर्ष कैद सजाय

मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेका ४ जनालाई ८ वर्ष कैद सजाय


काठमाण्डु – मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेका ४ जनालाई विशेष अदालतले ८ वर्ष कैद सजाय गरेको छ ।

विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्व सचिव गजेन्द्र ठाकुरसहित ४ जनालाई दोषी ठहर गरेको थियो ।

निर्माण र परामर्शदाता ४ कम्पनी समेत दोषी ठहर हुँदा ११ जनाले अभियोगबाट सफाइ पाएका थिए । पूर्व सचिव भीम उपाध्यक्ष, सञ्जय शर्मा, बहालवाला सहसचिव रुद्रसिंह तामाङ लगायत ११ जनाले सफाइ पाएका थिए ।

कसूर ठहर भएकाको हकमा अदालतले सोमबार सजाय निर्धारण गर्दै ८ वर्ष १ महिना कैद र बिगो बराबर जरिवाना गर्ने फैसला सुनाएको छ ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सचिव ठाकुरलाई ८ वर्ष १ महिना कैद र बिगो बमोजिम जरिवाना निर्धारण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन ६ गते मेलम्ची आयोजनामा भ्रष्टाचार भएको आरोप लगाउदै ३ पूर्व सचिवसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा कूल ८९ करोड ८ लाख रुपैया राज्यकोषमा नोक्सानी भएको निचोडसहित अख्तियारले मुद्दा दायर गरेको थियो । परामर्शदाता इप्टिसाका टीम लिडर शिवकुमार शर्मा दोषी ठहर भएका छन् भने इटालियन निर्माण कम्पनी सीएमसी भ्रष्टाचारको मतियारमा दोषी ठहर भएको छ ।