सेनाका सम्भारथी देउजा हटाइए, उपरथी श्रेष्ठले पाए जिम्मेवारी

सेनाका सम्भारथी देउजा हटाइए, उपरथी श्रेष्ठले पाए जिम्मेवारी


काठमाण्डु– नेपाली सेनाका दुई जना उपरथीहरूको सरुवा भएको छ । सेनाका उपरथीहरू प्रकाश देउवा र गणेश श्रेष्ठको सोमबार सरुवा भएको सैनिक स्रोतले जानकारी दिएको छ । सेनाको सम्भाररथी विभागको प्रमुख रहेका देउजालाई सुदूरपश्चिम पृतनापति र त्यहाँ पृतनापति रहेका उपरथी श्रेष्ठलाई सम्भाररथी विभागमा सरुवा गरिएको छ ।

प्रधानसेनापतिमा अशोकराज सिग्देल आएसँगै सेनाको सम्भारथी विभागको पुरै सेट परिवर्तन गरिएको हो । यसअघिका प्रधानसेनापति प्रभुराम शर्माले देउजालाई सम्भारमा ल्याएका थिए । उनको पालामा सेनाभित्रको खरिद प्रक्रिया निकै अपारदर्शी भएको सैनिक निकट स्रोत बताउँछ ।

शर्माको पालामा सेनाको खरिदमा निकै समस्या आएको स्रोतको बताउँछ । शर्माले नियमविपरीत ठेक्का लगाएको र ठेकेदारहरूले समयमै सामान नदिँदा सेनाका केही कम्पनीसमेत बन्द हुने अवस्थामा पुगेका छन् ।
शर्माले उनका साला नाता पर्ने चितवनका रेग्मी थरका डाक्टर, ठेकेदारहरू महेश शर्मा र लोकेन्द्र कार्कीसंग मिलेर ठेक्कापट्टाबाट फाइदा लिँदै आएको स्रोतको दाबी छ । शर्माले मिलेमतोमा दिएको ठेक्का सम्झौैताअनुसार सामान नआएपछि सेनाले ति सम्झौँता एकपछि अर्को गर्दै तोडिरहेको छ ।

सिग्देल प्रधानसेनापति भएसँगै सेनाभित्रको आर्थिक अनियमिततामा कडाइ गर्न थालेका छन् । उनले सम्भारमा ल्याएका श्रेष्ठ २८ बेसिकका सैनिक अधिकृत हुन् । उनी तुलनात्मक रूपमा व्यवसायिक सैनिक अधिकारी हुन् । सम्भारमा सहायकरथी द्रव्य भण्डारीको यसअघि नै सरुवा भइसकेको छ । सेनामा सम्भाररथी विभाग निकै महत्वपूर्ण मानिन्छ ।

सेनाको अर्को महत्वपूर्ण मानिने नीति महानिर्देशनालयमा कृष्णदेव भट्टको सरुवा भएको छ । सैनिक सचिवमा सहायकरथी मानबहादुर महराको सम्भावना बलियो रहेको सैनिक स्रोत बताउँछ ।