सिआईबीले सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न खटायो टोली

सिआईबीले सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न खटायो टोली


काठमाण्डु –केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सूर्यदर्शन बचत तथा ऋण सहकारीको अनुसन्धान गर्न काठमाडौंबाट मंगलबार दुई विषेशज्ञ अधिकृतलाई पोखरा पठाएको छ । सिआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) दीपक थापाले सूर्यदर्शनको फाइल हेर्ने अनुसन्धान अधिकृतहरूलाई सहयोग गर्ने गरी ‘सपोर्ट टिम’ पठाइएको जानकारी दिए ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा कास्की प्रहरीले पूर्वडिआईजीपी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीलाई हिरासतमा लिएर गरिरहेको अनुसन्धानलाई सघाउन सिआईबीले दुई अधिकृत पोखरा पठाएको हो ।

आइतबार काठमाडौंबाट पक्राउ गरी कास्की पुर्‍याइएका जोशीको अहिले जिल्ला सरकारी वकिल कार्यालय पोखरामा बयान जारी छ। सोमबार जिल्ला अदालत कास्कीबाट जोशीलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति पाएको प्रहरीले सिआईबीबाट विशेषज्ञ माग गरेको थियो ।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालकसमिति अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई कोषाध्यक्ष कुमार रम्तेल, प्रवन्धनिर्देशक रवि लामिछाने र सञ्चालक जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो।

गृह मन्त्रालयले सिफारिस तत्काल कार्यान्वयन गर्न भनेकै दिन प्रहरीले जोशीलाई पक्राउ गरेको थियो ।

उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष निकाल्दै कारबाही गर्न सिफारिस गरेको थियो ।