महिला लिग फूटबलमा आर्मी विजयी

महिला लिग फूटबलमा आर्मी विजयी


काठमाण्डु – राजधानीमा जारी एन्फा महिला लिग फूटबल प्रतियोगितामा चन्द्रा भण्डारीको ‘ह्याट्रिक’मा वालिङ नगरपालिकालाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मंगलबार भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई ८–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

आर्मीका लागि चन्द्राका साथै विमला विक र अमिशा कार्कीले समान २–२ गोल गरे भने १ आत्मघाती गोल भएको थियो ।

खेलको ३८औं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाइन् । त्यसपछि खेलको ४२औं मिनेटमा चन्द्राले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् ।

उनले गोल गरेको २ मिनेट बित्न नपाउँदै वालिङ नगरपालिकाकी खेलाडीले आत्मघाती गोल गरिन् ।

खेलको पहिलो हाफमा ३–० गोलअन्तरले अगाडि रहेको आर्मीले खेलको दोस्रो हाफमा ५ गोल थप्यो । खेलको ५४औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गरिन् भने उनैले खेलको ७३औं मिनेटमा १ गोल थप्दै ह्याट्रिक पूरा गरिन् ।

अमिशा कार्कीले ६१औं र ७१औं मिनेटमा गोल गरिन् । विमलाले खेलको ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । खेलमा चन्द्रा ‘प्लेयर अफ दी म्याच’ समेत घोषित भइन् ।

जीतसँगै आर्मी ८ खेलबाट १९ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । समान ८ खेल खेलेको वालिङ १२ अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ । अखिल नेपाल फूटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता छ ।