भारतीय ट्रकमा आगजनी गर्ने २ जना पक्राउ

भारतीय ट्रकमा आगजनी गर्ने २ जना पक्राउ


काठमाण्डु – भारतीय ट्रकमा आगजनी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापामा २ वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गतका नागरिक प्रतिरक्षा बल (पीडीएफ) ले झापाको यातायात बन्दको घोषणा गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले ट्रक आगजनीमा संलग्न रहेको आरोपमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलमा आवद्ध झापाको हल्दिवारी गाउँपालिका–१ का ४० वर्षीय भीम लिम्बू तुम्वापो र नागरिक प्रतिरक्षा बलकै कार्यकर्ता झापाको बिर्तामोड नगरपालिका–७ का ३९ वर्षीय विजय चौधरीलाई पक्राउ गरिएको बताए ।

प्रवक्ता चन्दका अनुसार पक्राउ परेका दुवै जनालाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान अघि बढाइएको छ । ट्रक आगजनीमा संलग्न केही व्यक्ति फरार रहेका र खोजीकार्य जारी रहेको जानकारी दिए ।

समूहले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा यूपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय मालबाहक ट्रकमा आगजनी गरेका थिए । आगजानीबाट घाइते भएका दुवै ट्रकका चालकहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।