दशैंतिहारमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

दशैंतिहारमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान


काठमाण्डु – यस वर्षको चाडपर्वमा १५–१८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो संख्या गत वर्षको तुलनामा ५ लाखले बढी हो ।

काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए ।

उनका अनुसार अघिल्लो वर्ष १३ लाखको संख्यामा सर्वसाधारणहरू उपत्यकाबाट बाहिरिएका थिए । प्रवक्ता खड्काले भने, ‘यो वर्षको दशैंमा वर्षा भएन भने गत वर्षको तुलनामा ५ लाख बढी सर्वसाधारणहरूले उपत्यका छाड्ने अनुमान गरिएको छ ।’

चाडपर्वका बेलामा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्नसक्ने भएकाले सो विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको उनले बताए । प्रवक्ता खड्काले भने, ‘सडक राम्रो नहुनु, सवारीसाधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपोसार गर्नु, बिग्रिएका सवारी साधनहरू पनि सञ्चालन गर्नु लगायतका कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।’

खड्काका अनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दशैंमा सजकतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन आफूहरू लागिपर्ने उनले बताए । प्रवक्ता खड्काले चाडवाडका बेलामा सवारी चालक एवं सहचालकलाई अझ बढी होशियारी पुर्‍याउन र यात्रुलाई पनि सजग रहन आग्रह समेत गरेका छन् ।