इंग्ल्यान्डद्वारा अस्ट्रेलिया ४६ रनले पराजित

इंग्ल्यान्डद्वारा अस्ट्रेलिया ४६ रनले पराजित


काठमाण्डु–इंग्ल्यान्डले अस्ट्रेलियासँगको शृङ्खला जीवित नै राखेको छ । गएराति चेस्टर ली स्ट्रिटमा भएको खेलमा डर्क वर्थ लुइसको आधारमा इंग्ल्यान्ड ४६ रनले विजयी भएको हो । अस्ट्रेलिया शृङ्खलामा २–१ ले अघि छ ।

३०५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३७.४ ओभरमा ४ विकेट गुमाउँदै २५४ रन जोडेपछि वर्षाले खेल रोकिएको थियो ।

खेल रोकिँदा इंग्ल्यान्डका हेरी ब्रक ११० तथा लियाम लिभिङस्टोन ३२ रनमा अविजित थिए । ११ रनमा २ विकेट गुमाएको घरेलु टोलीलाई जितसम्म लैजाने काम ब्रक र फिल ज्याकबिच तेस्रो विकेटका लागि भएको १५६ रनको साझेदारीले गरेको थियो ।

२८ औं ओभरको चौथो बलमा क्यामरुन ग्रिनको बलमा आउट हुनु अघि ज्याकले ८२ बलमा ८४ रन जोडेका थिए । ब्रक सो खलको म्यान अफ द म्याच भए ।

खराब सुरुवात गरेको इंग्ल्यान्डका फिल साल्ट शून्य तथा बेन डकेट ८ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतीमा ३०४ रन जोडेको थियो । अस्ट्रेलियाका एलेक्स क्यारीले अविजित रहँदै ७७ रन जोडे । स्टेभन स्मिथलाई ६० रनमा पाँचौँ विकेटको रूपमा गुमाउँदा अस्ट्रेलियाले ३४.३ ओभरमा १७२ रन जोडेको थियो । धिमा गतिमा खेलेका स्मिथले ८२ बलको सामना गरेका थिए। स्मिथ आउट भएपछि क्रिजमा आएका ग्लेन म्याक्सवेल र एरोन हार्डीले तीव्र गतिमा रन बटुलेका थिए ।

म्याक्सवेलले २५ बलमा ३० रन बनाए भने हार्डीले २६ बलमा ४४ रन बटुले । क्यारीले पनि पारी अन्त्यमा विस्फोटक भएका हुन् । उनले कुल ६५ बलको सामना गरे ।

इंग्ल्यान्डका जोफ्रा आर्चरले २ विकेट लिए । पावर प्लेमा सम्हालिएका इंग्ल्यान्डका बलर त्यसपछि कमजोर देखिएका थिए ।