रवीन्द्र मिश्रको भनाइप्रति प्रचण्ड सचिवालयले जनायो आपत्ति

रवीन्द्र मिश्रको भनाइप्रति प्रचण्ड सचिवालयले जनायो आपत्ति

बाबुरामको टिप्पणी–प्रचण्डको वास्तविकता यहि हो


काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले गरेको भनाइप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका छन् ।

शान्ति र संविधानको नेतृत्व गर्ने प्रचण्डको विचार भनेर आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनीतिक संस्कार नभएको स्वकीय सचिव मल्लले बताएका छन् ।

‘हिजो बिहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रले आफ्ना विचारहरू राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ,’ मल्लले प्रचण्डको सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान् बलिदानपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’

पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र ? मल्लले प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘मिश्र सर, यति सस्तो (अ)राजनतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’

यता, पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता रवीन्द्र मिस्रबिचको भेटलाई कटाक्ष गरेका छन् ।

प्रचण्डले राजा महेन्द्र त गज्जबका ‘भिजनरी’ राजा रहेछन् भन्ने प्रतिक्रिया दिएको रवीन्द्रको भनाइलाई लक्षित गर्दै उनले बिरालो म्याउ गरेको रूपमा चित्रण गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘प्रचण्ड र रवीन्द्र मिश्रबिचको अंतरंग कुराकानीको सत्य तथ्य उहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्षदेखि जान्ने सबैलाई थाहा छ, अहिले बिरालो म्यॉउ गरेकै हो ! किनकि प्रचण्डको वास्तविकता त्यही हो ।’

उनी थप लेख्छन, ‘गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषित पीडित जनताको अतुलनीय बलिदानपूर्ण सङ्घर्षको बलमा प्राप्त भएको हो । केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्ता लिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू खोसिन सक्दैनन् ! खोस्न दिनु हुँदैन !’