अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चको फैसला आउँदै

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चको फैसला आउँदै

File photo

काठमाण्डु-माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । अदालतको संवैधानिक इजलासमा सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइका लागि पेशी तोकिएको छ ।

यसअघि सापकोटाविरुद्ध मुद्दाको निर्णय सुनाउने मिति पटकपटक तोकिए पनि संवैधानिक इजलासले मिति सार्दै आएको थियो ।

काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप सापकोटामाथि छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत,सपना प्रधान मल्ल,प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले सापकोटाविरुद्ध मुद्दाको निर्णय सुनाउने छ ।

संवैधानिक इजालसमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन् । अर्जुनकी पत्नी पूर्णमाया लामा, कनकमणि दिक्षीत र सुशिल प्याकुरेलसहित ८ जनाले सापकोटाविरुद्ध मुद्दा दायर गरेका थिए ।

२०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव फेला परेको थियो ।

लामाकी पत्नी पूर्णमायाले आफ्ना श्रीमानको हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै २०६९ मंसिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् । सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो ।

त्यसअघि २०७२ चैत २२ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मुद्दा संवैधानिक इजलासमा हेरिने आदेश दिएको थियो ।

उक्त आदेशपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा,न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले नेता सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन हत्याको घटनामा उक्त आयोगमा परेको उजुरीको प्रतिलिपी मगाउन आदेश जारी गरेको थियो ।